घोराही-तुलसीपुर सडकमा चालू आर्थिक वर्षमा नयाँ ठेक्का गरिने

अर्थ/वाणिज्य राजनीति समाचार
Spread the love

घोराही, २८ साउन। घोराही-तुलसीपुर सडकखण्डमा चार लेन बनाउन नयाँ ठेक्का गरिने भएको छ। यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जानकारी दिनुभयो।

चालू आर्थिक वर्षभित्र ठेक्का गरिने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको छ। उक्त सडकसहित दाङका अन्य विकास निर्माणका विषयमा महासचिव पोख्रेलले आज अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, अर्थ सचिव, भौतिक मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्नुभएको छ।

यस सडकसँगै लमही-घोराही सडकखण्ड पनि चार लेन विस्तार गर्ने गरी प्रक्रिया सुरू गरिएको महासचिव पोख्रेलले जानकारी दिनुभयो। त्यसैगरी, एमसीसी परियोजना अन्तर्गत दाङ खण्डमा पनि आठ लेन बनाउनका लागि प्रक्रिया अघि बढाइने भएको छ। एमसीसी परियोजनालाई यसअघि डिजाइन गरिएकोलाई सुधार गरेर आठ लेन बनाउन आग्रह गरिने भएको छ। यदि एमसीसी परियोजनाले प्रस्ताव स्वीकार नगरेमा भने सरकारले त्यही डिजाइनअनुसार खर्च गर्ने गरी त्यही गुणस्तरको सडक निर्माण गर्नेछ।

यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापनका लागि सम्पूर्ण बजेट सुनिश्चित गरिएको महासचिव पोख्रेलले जानकारी दिनुभयो। “हामीले दाङको विकासका लागि व्यापक योजना बनाउन जरुरी छ,” पोख्रेलले भन्नुभयो, “पूर्वाधार विकास नगरी अरू विकास गर्न गाह्रो हुन्छ।

चार लेन सडकले जनतालाई निकै सास्ती भएको छ। अब नेपाल सरकारले आफैं बजेट विनियोजन गरेर काम गर्छ।” पहिले भारतीय एक्जिम बैंकको ऋणमा भारतीय ठेकेदारले निर्माणको जिम्मा पाएको थियो। तर, निर्माण कम्पनीले काम नगरेपछि सडक अलपत्र अवस्थामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *