राजनीतिमा टिक्न अचार बेचिरहेकी शान्ता, ‘जनता फकाउनजस्तो सजिलो रहेनछ ग्राहक फकाउन’

अर्थ/वाणिज्य समाचार
Spread the love

राधिका अधिकारी

काठमाडौं । बेलाबेला उनलाई लाग्छ, राजनीति छोडेर सामान्य जिन्दगी बिताऊँ। जुन जिन्दगीमा दौडधुप गर्नुपर्दैन। पैसाको यतिसारो फिटिफिटी पनि पर्दैन।

आफैसँगको लामो मन्थनपछि फेरि उनलाई लाग्छ, ‘मेरो समुदायको अर्को मान्छे यो ठाउँमा आइपुग्नु कहिले! त्यो असहज बाटो पार गरेर यहाँसम्म आएकी मैले पनि हिम्मत हारेँ भने मेरो समुदायका अरु कसरी अघि आउन सक्लान्!’

शान्ता चौधरी निकै कमजोर आर्थिक धरातलबाट राजनीतिमा आएकी महिला हुन्। ८ वर्षको कलिलो उमेरमा आर्थिक विपन्नताकै कारण कमलरी बन्न बाध्य भएकी शान्ताले १८ वर्ष कमलरी भएर दासतापूर्ण जीवन बाँचिन्। २०५७ साउन २ गते कमैया मुक्ति घोषणा भयो। तर उनले यसको ६ वर्षपछि २०६३ सालमा मात्र दासताबाट मुक्ति पाइन्। यतिबेलासम्म पनि कमलरी प्रथा उन्मूलन भने हुन सकेन। त्यसपछि शान्ता कमलरी मुक्तिको अभियानमा लागिन्। त्यही अभियानले हो- उनलाई राजनीतिसँग जोडेको। उनी एमालेमा आबद्ध भइन्।

एमालेले २०६४ मा उनलाई संविधानसभा सदस्य बनायो। त्यसपछि शान्ताको जीवनशैली फेरियो। उनी दाङबाट काठमाडौँ सरिन्। ०७४ मा फेरि सा‌ंसद बनिन्। तर, आर्थिक अवस्था भने जहाँको त्यहीँ रह्यो।

‘सांसद भएर पनि मेरो आर्थिक अवस्था सबल हुन सकेन,’ उनी भन्छिन्।

एमाले अध्यक्ष केपी शर्मा ओली उनीसँगका हरेक भेटमा भन्ने गर्थे, ‘दिगो राजनीतिका लागि तपाईं उत्पादनमा जोडिनु पर्छ। नेताहरूको आम्दानीको स्रोत केही छैन, भ्रष्टाचार गरेर जीवन चलाउने हुन् भन्ने आम मान्छेको धारणा चिर्न काम गर्नु पर्छ।’

ओलीका कुराले शान्ता व्यवसायी बन्न हौसिन्थिन्। सोच्थिन्, ‘आफैले राम्रो आम्दानी हुने केही काम गर्न पाए भ्रष्टाचारको त सोच पनि आउँदैनथ्यो होला। नियमित आम्दानी हुने केही काम नगर्ने, राजनीति मात्रै गरिहिँड्नेहरूले गर्दा नेताहरू बद्नाम भए। यो बदनामीको शृखंला तोडिनु पर्छ।’

शान्तालाई नियमित आम्दानी हुने केही काम गर्ने हुटहुटी त थियो, तर के गर्ने योजना थिएन। रहर थियो थारु रेस्टुरेन्ट खोल्ने। तर, लगानी र ज्ञान दुवै थिएन।

उनले केही समय काठमाडौँको कोटेश्वरमा ब्युटी सैलुन सञ्चालन गरिन्। तर, समय दिन सकिनन्। कति आम्दानी, कति नाफाघाटा भयो, उनले थाहा पाइनन्। अन्ततः सैलुन साझेदारलाई जिम्मा लगाइन्।

तर, उनलाई केही गर्ने सपनाले लखेट्न छोडेन। उनी अहिले अचार व्यवसायी भएकी छिन्। अचार व्यवसायी बन्छु भनेर उनले अचार बनाउन भने थालेकी होइनन्। उनले कतै अचार बनाउने तालिम पनि लिएकी छैनन्। संसदमा राजनीतिक विषयका अलावा किसान, व्यवसायीका कुरा, जनतालाई आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण गराउने शान्ता आफैँले चाहिँ कृषि उत्पादनसँग जोडिएर व्यवसाय गर्छु भनेर कहिल्यै सोचेकी थिइनन्। नसोचेरै उनी कृषि उत्पादनसँग जोडिएकी छन्।

आफ्नो अचार व्यवसायलाई शान्ताले बाध्यताको नाम दिएकी छन्।

‘देख्दा मानिसहरूलाई मेरो रहर जस्तो लाग्ला। सांसद भइसकेको मान्छेलाई के बाध्यता होला र भन्ने पनि लाग्ला तर यो मेरो बाध्यता हो,’ शान्ता भन्छिन्, ‘राजनीतिमा खर्च हुने मात्रै हो। मलाई कमाएर दिने कोही छैन। पुर्ख्यौली सम्पत्ति पनि छैन। आम्दानी नहुँदा बाँच्नै मुस्किल छ। मैले जानेको सीप यही हो।’

नयाँ–नयाँ परिकार बनाउनु शान्ताको सोख हो। उनी अचारका परिकार पनि पहिल्यैबाट बनाउँथिन्। उनका साथीहरू अचार बनाउने सामान ल्याउँथे र उनैकहाँ छोडेर जान्थे। भन्थे, ‘यसले अचार मिठो बनाउँछे।’

शान्ता अचार बनाउँदै साथीहलाई बाँड्थिन्। एकदिन उनको मनमा आयो, ‘म किन सित्तैँमा मेरो सीप बाँडौँ, यही सीपलाई व्यवसाय बनाउँदा के हुन्छ?’

अचारलाई व्यवसायका रुपमा अगाडि बढाउँदा जनतासँग पनि जोडिन सजिलो हुन्छ भन्ने लाग्यो। त्यसपछि उनले अचार व्यवसाय सुरु गरेकी हुन्।

फेसबुक पोस्टमा अर्डर आएपछि…
एक वर्षअघिको कुरा हो, शान्ताले ग्वार्कोस्थित निवासमा एक किलो चिकेनको अचार बनाइन्। अनि फेसबुकमा पोस्ट गरिन्। थुप्रैले प्रश्न गरे, ‘बेच्ने अचार हो?’

शान्ताले जवाफ फर्काइन्, ‘हो।’

तर, उनीसँग बेच्ने अचार थिएन। केहीले १ केजी, केहीले आधा केजी गरेर अर्डर गरे। शान्तालाई राम्रै आम्दानी होला जस्तो लाग्यो। उनले आफ्नै भान्सामा बनाएर अचार डेलिभरी गरिन्। उनको अचारका ग्राहक दोहोरिए। माग बढ्दै गएपछि शान्तालाई उद्योग दर्ता गरेरै काम गर्ने सोच आयो।

‘उद्योग दर्ता गरेर काम गर्ने कुरा निकै झञ्झटिलो रहेछ। नीति नियममा तोकिएको सबै कागजात र प्रक्रिया पुर्‍याएर सम्बन्धित कार्यालयका फाँटमा पुग्दा पनि पटकपटक खाली हात फर्किनु पर्‍यो,’ शान्ताले सुनाइन्, ‘उद्योगको दर्ता, बिक्री अनुज्ञापत्रका लागि कानुनी प्रक्रिया पूरा गर्नै ६ महिना लाग्यो। एउटै कामका लागि घरीघरी प्रशासन धाइरहँदा नगरौँजस्तो सोच पनि आएको थियो।’

लामो र झञ्झटिलो सरकारी प्रक्रिया, कर्मचारीको रुखो वचनले शान्तालाई निराश बनाउँथ्यो। उनी सोच्थिन्, आम मान्छेलाई झन कति गाह्रो हुँदो हो।

‘कतिपय प्रक्रिया यति झञ्झटिला रहेछन् कि के गर्ने भनेर थाहा पनि हुँदैन रहेछ,’ शान्ता सम्झना गर्छिन्, ‘त्यस्तो बेला सम्बन्धित ठाउँमा बसेकाहरूले सहजीकरण गरिदिनुपर्ने हो, तर गर्दैनन्। ६/७ महिना लगातार कुदेपछि मात्रै मैले उद्योग दर्ता गर्न सकेँ।’

५० लाख लगानी, ९ कामदार
शान्ताले आफ्नै नाममा अचार उत्पादन थालिन्। दाङ, घोराहीको डाँडागाउँस्थित आफ्नै घरको छतबाट व्यवसायिक रुपमा शान्ताको अचार उत्पादन सुरु भयो। सुरुमा घरपरिवारले नै अचारको माग पूर्ति गर्थ्यो। अहिले ८–९ जना कामदार छन्।

गत पुस २० गते मात्रै घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेको शान्ताको अचार उद्योगमा ५० लाख भन्दामाथि लगानी भएको शान्ता बताउँछिन्। उनको अचारको माग देश तथा विदेशमा बढ्दो क्रममा छ। तर, अहिलेसम्म आफूले घाटाकै व्यापार गरिरहेको शान्ता सुनाउँछिन्।

दाङमा उत्पादन हुने शान्ताको अचारको डिलर काठमाडौँमा छ। उनले दाङमा नै उद्योग स्थापना गर्नुको पनि आफ्नै कारण छ।

भन्छिन्, ‘मलाई आफ्नै मतदातासँग जोडिनु थियो। मलाई भोट गर्ने जनता दाङकै हुन्। अर्को कुरा मलाई पनि कच्चा पदार्थमा कम लागत पर्थ्यो। त्यसैले उद्योग स्थापना दाङमै गरेकी हुँ।’

घरको छतबाट सुरु भएको उनको अचार व्यवसायका लागि अहिले छुट्टै भवन निर्माण भइरहेको छ। उनको अचार काठमाडौँबाटै धेरै बिक्री हुन्छ। सुरुमा शान्ता दाङमै अचार प्याक गरेर काठमाडौँ ल्याउँथिन्। यसो गर्दा थुप्रै पटक अचारको डिब्बा फुटेर, अचार लिकेज भएर नोक्सान भयो।

अहिले उनी ठूलो ड्रममा अचार लिएर आउँछिन्। काठमाडौँमै प्याक गर्छिन्। काठमाडौँको डिलरमा उनीसँगै नियमित एक कामदारले काम गर्छन्।

चौधरी आफ्नो उद्योगमा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका अचार उत्पादन हुन्छन्। ननभेजतर्फ कुखुराको मासु, खसीको मासु, भैँसीको मासु र माछाको अचार गरी ४ प्रकारका उत्पादन हुने शान्ता सुनाउँछिन्।

भेजतर्फ भने मुला, लसुन, कागती, अदुवा, बेसार, मिक्स अचार, तिलको छोप लगायत बीस–बाइसथरी सामग्री प्रयोग गरेर अचार बनाउने उनले जानकारी दिइन्।

शान्ताको अचारको डिलर अहिले अस्ट्रेलियामा पनि छ। अमेरिकामा पनि डिलर राख्ने कुरा भइरहेको छ। विश्वका अन्य मुलुक जहाँ नेपाली पुगेका छन्, त्यहाँ पनि माग बढ्दो छ। नेपालमा भर्खरै शान्ताले भाटभटेनी सुपर मार्केटसँग सम्झौता गरेकी छिन्।

भन्छिन्, ‘अबको केही दिनमा देशभरका भाटभटेनीमा शान्ताको अचार बिक्री हुन्छ।’

शान्ता उद्यमी भएको धेरै समय भएको छैन। तर, थुप्रै खाले अप्ठ्याराहरूको सामना गरेको उनको कथन छ।

‘राजनीति गर्नभन्दा गाह्रो त व्यापार गर्न रहेछ,’ शान्ता भन्छिन्, ‘जनता फकाउन जस्तो सजिलो रहेनछ ग्राहक फकाउन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *