दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले मात्रै पुग्दैन । तर, संघीय सरकारले प्रदेशले गर्छ भन्दै उपेक्षा गर्छ ।’
जनता संघका र प्रदेशका अलग-अलग नहुने भन्दै जनताको जीवनरक्षा गर्ने दायित्व तीनै तहका सरकारको भएको बताए । जनताको समस्या समाधान गर्न तीन तहका सरकारले एकिकृत योजना बनाउनुपर्ने मन्त्री पुनको भनाई छ ।