दाङ — घोराहीमा सोमबार फरक-फरक भेषभुषामा सजिएका मानिसहरू सडकमा नाच्दै गाउँदै हिँडे । बजारवासी र पैदलयात्री बाटोमै रोकिएर अनौठा दृश्य हेर्न थाले । शुक्रबारदेखि घोराहीमा सुरु भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवका क्रममा सोमबार नेपालसहित १३ देशका कलाकारले आ-आफ्नो लोक संस्कृति प्रदर्शन गरे ।
घोराहीको सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकी र प्रस्तुतिसहितको र्याली बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कतिको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव स्थलमा पुगेर विभिन्न देशका कलाकारहरुले प्रस्तुति गरेका थिए । जसमा विभिन्न देशका साथै नेपालका विभिन्न जातजातिका मौलिक संस्कृति पनि प्रदर्शन गरिएको थियो । एकै थलोमा धेरै देशका कलाकर्मीहरूको प्रस्तुति हुँदा कला संस्कृतिको आदानप्रदान हुनुका साथै स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरण हुने मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताए । ‘यसबाट अन्तरदेशीय सम्वन्ध समेत प्रगाढ बनाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘कला संस्कृतिमार्फत सम्बन्ध जोडिने छ ।’
महोत्सवमा नेपालसहित १३ देशका ३ सय बढी कलाकारहरुको प्रस्तुति रहेको जोशीले बताए । जसमा नेपाल, अस्ट्रिया, बेल्जियम, बोत्सवाना, एस्टोनिया, जर्मनी, भारत, इजरायल, मलेसिया, पेरु, पोल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिय लगायतका देशबाट कलाकारहरू आएको दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताए ।
दाङका विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पुर्याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने र लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन महोत्सवले भूमिका खेल्ने बुढाथोकीले बताए । दयसअघि २०६८ सालमा दाङमा अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव आयोजना गरिएको थियो ।