छवि पुरी | घोराही, २० फागुन । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो ।
त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिष्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो । आइतवारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म सञ्चालन हुनेछ । घोराही समन्वय समितिअन्तर्गत रहेको सहिद मन्चमा भईरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भलिबल खेलकुदको विकासका लागि दाङ कांग्रेसले थालनी गरेको प्रयास सराहनीय भएको भन्दै प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको विकासका लागि भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यसँगै अनुसाशनका दृष्टिले महत्वपूर्ण खेलकुदबाट राजनीतिमा लगेका नेताहरुले सहयोग र समन्वय सिक्न सकेत राजनीतिक रुपमा सफल भइने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘खेलाडीहरुमा एकता, समन्वय र सहयोग भएमा मात्र खेल जित्न सकिन्छ । त्यो राजनीतिमा पनि लागु गर्न सक्नुपर्छ’,मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘राजनीतिमा लाग्ने पनि खेलाडीबाट एकता र सहयोग सिक्न जरुरी छ ।’