हुलाक टिकटमा तस्बिर छापिने नेत्रलाल दाङका पहिलो

राजनीति समाचार
Spread the love

दाङ । सरकारले प्रकाशन गर्ने हुलाक टिकटमा तस्बिर छापिने शहीद नेत्रलाल पौडेल ‘अभागी’ दाङका पहिलो व्यक्ति भएका छन् । अभागीको तस्बिर शनिवारदेखि सार्वजनिक भएको १० रुपैयाँको हुलाक टिकटमा छापिएको छ । यस अघि दाङका कसैको पनि हुलाक टिकटमा तस्बिर नछापिएको र अभागी नै पहिलो व्यक्ति बनेको बताइएको छ । राजनीति शास्त्रका प्राध्यापक डा. सुदीप गौतमले यस अघि दाङका कसैको पनि हुलाक टिकटमा तस्बिर नछापिएको र अभागी नै पहिलो व्यक्ति बनेको बताए ।

राजनीति, शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो । पौडेल २००१ पुस २७ गते दाङको घोराही उपमहानगरपालिका ५ (तत्कालीन धर्ना गाविस २ सिसैपुर) गाउँमा जन्मिएका थिए । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई संगठित गर्दै पौडेलले २०३६ दाङको किसान आन्दोलनको नेतृत्व गरेका थिए । अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएर २०२३ देखि राजनीति र शिक्षण पेसालाई एकैसाथ अगाडि बढाएका थिए ।

२०३० सालमा अञ्चलाधीशबाट पक्राउ पुर्जी जारी भएपछि अभागी शिक्षण पेसा छाडेर भूमिगत भएका थिए । साहित्यको माध्यमबाट परिवर्तनमा भूमिका खेलेका अभागीका विसं २०४१ मा नर्कको कथा खण्डकाव्य, विसं २०४२ मा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासङ्ग्रह र विसं २०६२ मा वर्गप्रेम कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै शुक्रराज (खण्डकाव्य), जिम्बाल चन्द र हली सेते कामीको कथा (काव्य), गंगाचिनी (महाकाव्य), सगरमाथाको चुचुरोमा टेकेर (कविता सङ्ग्रह), लेखथानसे बैरागी काइलासम (नेपाली कविताहरूको थारु भाषा अनुवाद)लगायत अन्य थुप्रै रचना अप्रकाशित छन् । २०४१ साल जेठ ६ गते मृत्यु भएका अभागीलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *