लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० को भब्य तयारी, शोभा यात्रामा सहभागि हुन आग्रह, उद्घाटन गर्न सामान्य प्रशासन मन्त्री दाङ आउदै

अर्थ/वाणिज्य समाचार
Spread the love

घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० को तयारी पूरा भएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ । भोलि मंगलबार दिउँसो साढे १२ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाहले घोराही–१५ झिगौरामा उद्घाटन गर्नुहुने अध्यक्ष विकास अग्रवालले बताउनुभयो ।

‘स्टल निर्माण, डिजिटल बोर्ड जडान सबै काम भइसकेको छ’– अध्यक्ष अग्रवालले भन्नुभयो– ‘शोभायात्राका लागि संघसंस्था, धार्मिक संस्था, टोलविकास संस्था सबैलाई निम्तो पठाइसकिएको छ ।’ उहाँका अनुसार शोभायात्रामा सहभागी संस्थालाई संस्थागत सहभागिता प्रमाणपत्र र उत्कृष्टलाई पुरस्कार दिइने छ । व्यानर, भेषभुषा बाजा गाजा हेर्ने मूल्यांकन टोली बनाइएको छ । मुख्य व्यानरसहितको शोभायात्रा चेम्बरको कार्यालय घोराही–१५ शिव वस्तीबाट शुरु हुनेछ । उक्त शोभायात्रा बैंकरोड, न्यूरोड तुलसीपुर चोक हुँदै झिगौरा महोत्सवस्थल पुग्नेछ ।

मुख्य प्रायोजक नेपाल टेलिकम रहेको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार बुढाबुढी, बालबालिका नच्यापियुन र सजिलै हेर्न पाउन् भनेर डिजिटलाइज्ड गरिएको हो । यसअघि उदयपुरमा प्रयोग भएको प्रविधि यस क्षेत्रमा पहिलो अभ्यास भएको बताउनुभयो । महोत्सव स्थलका चार कुनामा राखिएका बोर्डबाट हेर्न सकिने छ । उद्घाटनका दिन फ्रि प्रवेश हुनेछ । अरु दिन एक सयको टिकट लाग्नेछ । ज्येष्ठ नागरिकलाई सधंै फ्रि र विद्यार्थीलाई केही छुट हुनेछ ।

गाउँ वस्तीका लोपोउन्मुख वस्तु एक्सपोमा देखाइने छ । एक्सपोमा विज्ञहरुबाट समस्याको समाधान दिने व्यवस्था हुने अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । यसरी बजारको विकास गाउँमा र गाउँको उत्पादन शहरमा ल्याइनेछ त्यसैले शहरदेखि गाउँसम्म व्यवसाय विस्तार हुनेछ । माघ २३ देखि फागुन आठसम्म चल्ने एक्सपोमा सम्पुर्ण राजनीतिक दलले सहयोग गर्ने भएका छन् । एक्सपोमा खानेपानी, सरसफाइ, प्राथमिक उपचार, सुचना सञ्चार, सुरक्षा र पारदर्शितामा सचेत भएर काम गर्न दलहरुले सुझाव दिएका छन् ।

राजनीतिक दलको सुझावलाई मनन गरी एक्सपो उत्कृष्ट बनाउन लागेको दाङ चेम्बर अफ कमर्सका महासचिव कृष्णा कार्कीले बताउनुभयो । उहाँका अनुसार मेला स्थलमा मद्यपान जाँड रक्सी र अखाद्य वस्तु पूर्ण प्रतिबन्ध गरिएको छ । प्रहरी, प्रशासन र स्वयंसेवकहरुमार्फत मेलालाई व्यवस्थित गरिनेछ । आयोजनाका अनुसार कुनै किसिमको अवाञ्छित र कानुन विपरीतका काम हुनेछैनन् । केन्द्रीयस्तरका कलाकार आउनेछन् । महोत्सवको गेटभित्रको वातावरण शान्तिपुर्ण र मनोरञ्जनात्मक हुनेछ । चेम्बरले सितल रावत र प्रकाश न्यौपानेलाई सदस्यमा मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *