एकराज भण्डारी
तुलसीपुर । आफ्नै घरछेउको एयरपोर्टबाट जहाज चढेर काठमाडौं जाने मनसाय बनाएका तुलसीपुर–१२ का रुपक शर्माको चाहना पूरा हुन सकेन । त्यसपछि उहाँ छिमेकी जिल्ला बाँकेको नेपालगञ्ज नै पुग्नुप¥यो । त्यति हतारको काम नभएको हुँदा शर्माले जहाज आइहाल्ला भन्ने आशामा झण्डै एक साता बिताउनुभयो । त्यसपछि पनि जहाज आउने छाँट नदेखिएपछि वैकल्पिक उपाय खोजी गर्नुपरेको उहाँले बताउनुभयो । ‘जहाज नआएको धेरै दिन भइसकेको रहेछ । मौसमको खराबीको कारणले होला भन्ने सोचेर पर्खिएको थिएँ तर त्यसो रहेनछ । त्यसपछि चाहिँ यहाँ जहाज आउला र जाम्ला भनेर कुर्नु निरर्थक जस्तो लाग्यो’– उहाँले भन्नुभयो– ‘एयरलायन्स कम्पनीहरुको पनि लापरवाही हो जस्तो लाग्यो । हप्तामा दुई दिन उडान सेवा दिन्छौं भन्ने तर कहिले महिनादिनसम्म पनि एउटा जहाज नआउने । सरोकारवाला निकायहरु पनि खबरदारी गर्न डराउने । अनि कसरी हुन्छ नियमित उडान ? ’ यहाँ जहाज आउनेक्रम हेर्दा एयरलायन्स कम्पनीले अन्यत्र काम नहुँदा मात्रै दाङ जहाज पठाउने गरेको उहाँले बताउनुभयो ।
सबैभन्दा बढी भ्रमको खेती कहीं भएको छ भने टरिगाउँ एयरपोर्टबाट हुने हवाई सेवामा भएको छ । यसको एउटा दृष्टान्त केही महिनाअघि देखियो । मुख्यमन्त्री भइसकेपछि जेठ १६ गते आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टरिगाउँ एयरपोर्ट अनुगमनका लागि पुग्नुभएका डिल्लीबहादुर चौधरीले भन्नु भएको थियो– ‘एयरपोर्ट निर्माणको काम प्रदेश सरकारले आजैदेखि थालनी गरिसक्यो ।’ तर मुख्यमन्त्री चौधरीले आफू बोलेको कुरा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेछ भन्ने बुझ्न दुई हप्ता लाग्यो । त्यसपछि असार ३ गते प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो– ‘कुरै नबुझेर सामाजिक सञ्जालमा अनेक कुराहरु आइरहेका छन् । एयरपोर्ट निर्माणको काम क्यानसँग सम्झौता गरेर मात्रै अघि बढ्दो रहेछ ।’ आफैले दिएको अभिव्यक्तिमै त्रुटि भएको जानकारी हुँदाहुँदै पनि मुख्यमन्त्रीले सामाजिक सञ्जालमा लेख्नेहरुलाई दोषारोपण गर्नुभयो । उक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एयरपोर्ट विस्तारका लागि तयार छ । अबको केही दिनभित्रै क्यानसँ‘ग सम्झौता हुन्छ । मुख्यमन्त्रीले यो अभिव्यक्ति दिएको पनि अहिले आठ महिना बितिसक्यो । हालसम्म सम्झौता हुन सकेको छैन ।
एयरपोर्ट स्तरबृद्धि र नियमति उडानका लागि स्थानीय सरकारले प्रयास थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । ‘स्थानीय सरकार अहिले एयरपोर्टको स्तरबृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँ‘ग सम्झौता गर्ने तयारीमा लागेको छ । माघको अन्तिमतिर क्यानका प्रतिनिधिले अनुगमन गर्ने र त्यसपछि सम्झौता प्रक्रिया अगाडि बढाइँदैछ’– उहाँले भन्नुभयो– ‘जहाज नियमित नभएको भन्ने विषयमा जानकारी छैन । त्यसबारे बुझेर नियमित गर्नेतर्फ स्थानीय सरकारको पहल हुन्छ ।’ एयरपोर्टमा इन्धन डिपो स्थापना भइसकेको छ । एयर ट्राफिक कन्ट्रोल टावर र टर्मिनल भवन पनि बनिसकेका छन् । मौसमले साथ दिएसम्म एयरपोर्ट खुलिराखेकै छ तर जहाज नआएको एयरपोर्ट प्रमुख मनोज दंगालले बताउनुभयो ।
टरिगाउँ एयरपोर्टबाट सेवा प्रवाह गर्न सकियोस् भनेर सामाजिक संघसंस्थाले पनि चासो देखाएका छन् । दाङबासीलाई टरिगाउँ एयरपोर्टबाटै जहाज चढ्ने वातावरण बनाउन सकियोस् भन्ने उद्देश्यले पहिलो निर्वाचित स्थानीय सरकारले भाडा तिरेर नेपाल एयरलान्सको कार्यालय स्थापना गरिदियो । दोस्रो कार्यकालमा स्थानीय सरकारले भाडा नतिर्ने अवस्था आयो । त्यसपछि नेपालगञ्ज मर्ज हुन थालेको कार्यालयलाई तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा राखेर सेवा प्रवाह गर्ने वातावरण मिलाएको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । ‘उवासंघको तर्फबाट अन्य विभिन्न समयमा जहाज नियमित गर्न पहल थाल्ने तथा एयरपोर्ट निर्माणमा पनि महत्वपूर्ण काम गरेका छौं । एयरपोर्टको रनवे कालोपत्रे हुँदा उवासंघले महोत्सव सञ्चालन गरेर आम्दानी भएको केही हिस्सा सहयोग गरेको थियो’– उहाँले भन्नुभयो– ‘अहिले पनि स्थानीय सरकारबाट सहयोग नपाउने भएपछि अन्यत्र जान थालेको कार्यालय हामीले सहयोग गरेर यहाँ राख्न सफल भएका छौं । हामी सामाजिक संस्था भएकोले गर्ने काम यही हो । अब जहाज नियमित उडान हुने वातावरण बनाउन दाङबाट निर्वाचित सरकारमा प्रतिनिधित्व गरेका तथा विभिन्न दलको शीर्ष तहमा रहेका व्यक्तिहरुसँग छलफलका लागि काठमाडौं जाने तयारी गरिरहेका छौं ।’
टरिगाउँ एयरपोर्टमा हवाई सेवा दिंदै आएको सीता एयरको सेवा प्रवाह केही महिनादेखि रोकिएको छ । गत फागुन महिनासम्म हप्तामा तीन दिन आउने गरेको सीता एयरको जहाज दुई महिना आएन । गत जेठदेखि हप्तामा दुई दिन आउन थाल्यो । यद्यपि विभिन्न बहाना गर्दै सीता एयरले नियमित उडान गरेको थिएन । महिना भन्दा पहिलेदेखि जहाज आउन छोडिसकेको छ । यसअघि सीता एयरले मंगलबार र बिहीवार तथा नेपाल एयरलायन्सले शुक्रबार गरी जम्मा तीन दिन टरिगाउँ एयरपोर्टमा जहाज आउने गरेको थियो । सीता एयरको जहाज आउन छोडेपछि नेपाल एयरलायन्सले सेवा बढाएर मंगलबार र शुक्रबार बनाएको छ तर जहाज आउने कुराको निश्चित नहुँदा यात्रुहरु बाह्य जिल्लाबाट जहाज चढ्ने गरेका छन् ।
नयाँ जहाज खरिद नगरे सेवा नियमित हुँदैन
बलबहादुर सुनार
नेपाल एयरलान्सका दाङ इञ्चार्ज
बलबहादुर सुनार
नेपाल एयरलान्सका दाङ इञ्चार्ज
पर्याप्त यात्रु संख्या नहुनु, मौसम खराब हुन, कहिलेकाहीं प्राविधिक समस्या आइदिंदा र जहाजको संख्या कम हुँदा सेवा प्रवाह नियमित हुन नसकेको हो । यसअघि के भयो थाहा भएन । म आएको एक हप्ता भयो । त्यसमध्ये दुईवटा फ्लाइट काठमाडौंबाट आउने यात्रु थिए, दाङबाट जाने यात्रु २÷३ जना मात्रै भए । त्यसकारण क्यान्सिल भएको हो । तीनवटा फ्लाइट प्राविधिक कारणले हुन सकेनन् । जहाज पुराना भइसकेका छन्, बेलाबेलामा समस्या आइरहन्छ । अर्को कुरा मौसमका कारणले पनि केही फ्लाइट क्यान्सिल भएका छन् । यो एयरपोर्टमा चल्नसक्ने जहाज हामीसँग भएको दुई वटा मात्रै हो । त्यो पनि एउटा पूर्वतिर चल्छ भने अर्र्को पश्चिमतिर चल्छ । पर्याप्त जहाज नै छैनन् । एउटामा समस्या आयो भने फ्लाइट क्यान्सिल गर्नुपर्ने हुन्छ । राज्यले नयाँ जहाज खरिद नगर्दासम्म फ्लाइट नियमित हुन सक्दैन ।