घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ ।
रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा पुस २८ गतेबाट हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनीबाट थापाको कप्तानीमा २२ सदस्यीय टीम घोषणा गरिएको हो ।
प्रदेशबाट खेल्ने टीममा मोहम्मद सादाब अन्सारी, लवकुश यादव, सिद्धान्त शाही, सम्राट भुसाल, इखलख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बस्याल, कृष्ण कार्की, मृनाल गुरुङ, अभिशेष गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, विराट भण्डारी, बीरबहादुर सारु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतिक भट्टराई, निर्मल गुरुङ रहेका छन् ।
प्रमुख प्रशिक्षक तथा खेलाडी छनोट समितिका बसन्त शाही, प्रदेश सदस्य तथा छनोट समितिका धीरज क्षेत्री र प्रदेश सचिव तथा छनोट समितिका कैलाश रोका मगर सम्मिलित टोलीले प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताका लागि दाङसहित रुपन्देही, बाँके, नवलपरासी, पाल्पा, कपिलबस्तु र बर्दिया जिल्लाका खेलाडीहरुको सहभागीतामा खेलाईएको खेलबाट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेको हो ।
लुम्बिनीबाट छनोटमा परेका खेलाडीलाई मंगलबार अपरान्ह ४ बजेभित्रमा खेल हुने स्थान सिद्धार्थ रंगशालामा उपस्थित हुन भनिएको छ । यसपछि दुई दिन बन्द प्रशिक्षण गरेर खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने तयारी भएको प्रदेश सचिव रोका मगरले जानकारी दिनुभयो ।