दाङ, २३ पुस ।
आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् ।
देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ । यस्तै २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
राष्ट्रियसभा निर्वाचनको मतदानका लागि सात प्रदेशमा एक-एक मतदानस्थल र दुई–दुईवटा मतदान केन्द्र कायम गरिएको छ ।
लुम्बिनी प्रदेशमा रिक्त हुने दुई सिटका लागि निर्वाचन हुने छ । घोराहीस्थित निर्वाचन निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको अवधि तय भएको छ ।
लुम्बिनी प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ताको तयारी पूरा भएको छ ।
यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दसौंदीको कार्यकाल सकिने भएपछि दुई रिक्त स्थानमा निर्वाचन हुन लागेको हो ।