कपिलवस्तु, २० पुस । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न आएको छ । लेखापढि व्यवसायीका सहयोगी रहेका मिश्राले कार्य सम्पादनमा असन्तुष्टीका कारण कंडेललाई कुटपिट गरेको हुन सक्ने श्रोतको दावी छ । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ ।
दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बताउंछन । यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कंडेलको कार्यशैली प्रति अधिकांस लेखापढि व्यवसायी असन्तुष्ट रहेको दावी छ । कुनै फाँटबाट अर्को फाँटमा फाईल पुराउंदा कंडेलले खुल्लम खुल्ला घुस माग्ने गरेको एक लेखापढि व्यवसायीले नाम प्रकाशन नगर्ने सर्तमा आरोप लगाए । यता कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । “आम सर्व साधारणले सेवा प्राप्त गर्न घण्टौं लाईन लाग्नु पर्ने तर बिचौलीया र असन्बन्धित व्यक्तिले सहजै सेवा पाएको गुनासो आउने गरेको छ । कतै कुटपिटको कारण यो पनि हुन सक्छ कि ? ” भन्ने टुडेकर्मीको प्रश्नको जवाफमा प्रमुख भण्डारीले यो दुषित र गलत नियतको प्रश्न भएकाले यस्को जवाफ दिन नसक्ने उनले बताए ।