कहिले बन्ला चारलेन सडक, ठेक्काको टुङ्गै छैन

समाचार
Spread the love

अमरराज आचार्य
दाङ, २० पुस । झन्डै पाँच वर्ष अघि दाङको घोराही–तुलसीपुरको साँघुरो सडक खण्डलाई चारलेनमा विस्तार गर्ने सरकारको महत्वाकाङ्क्षी योजना बन्यो । झन्डै डेढअर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक विस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइयो ।

यो अवधिसम्म सडक निर्माणका लागि भन्दै सडक खनियो तर विस्तार भएन । सडक विस्तारका नाममा भएको खनीखोस्रीमै करोडौँ रकम खर्च भयो । अन्ततः खनिएको सडकलाई टालटुल पारेर पुनः यो सडकलाई पहिलेकै अवस्थामा फर्काइयो, त्यो पनि करोड रकम खर्चिएर । सडक विस्तारका नाममा खन्दा ७ करोड रुपैयाँ खर्च भयो तर सडक नबनेपछि खाल्डा पुर्न फेरि २ करोड ६० लाख रुपैयाँ खर्च गरियो । भारतीय निर्माण कम्पनीले काम गर्न नसकेपछि निर्माणको ठेक्का तोडिएको यो सडक निर्माणको काम भने अहिलेसम्म पनि अन्योलमै छ । भलै सरकारले फोरलेन सडकका लागि पुनः ठेक्का दिने गरी कार्यप्रारम्भ भएको जनाएको छ तर कहिले ठेक्का लाग्ने भन्ने मितिको भने टुङ्गो लागेको छैन ।

‘यो सडकलाई फोरलेन बनाउने गरी पुनः ठेक्का लाग्छ’, सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘तर कहिलेसम्म ठेक्का लाग्ने भन्ने यकिन मितिको भने टुङ्गो छैन ।’ उनका अनुसार फोरलेन सडकका लागि पुनः डिपिआरको काम सकिएको छ । कार्यालयले दुई महिना अघि यो सडक पुनः ठेक्कामा लगाउने गरी सर्वेक्षण गरेको थियो । ‘फोरलेन सडक निर्माणका लागि फेरि डिपिआर गरिएको छ’, उनले भने, ‘डिपिआरलाई अन्तिम रूप दिन बाँकी छ ।’ डिपिआरलाई अन्तिम रूप दिएपछि भारतको एक्जिम बैंकलाई डिपिआरबारे जानकारी गराइन्छ ।

फोरलेन सडक निर्माणमा लगानी गर्ने यही भारतीय बैंक हो । ‘डिपिआरको कामलाई अन्तिम रूप दिएपछि सडक निर्माणका लागि प्रतिवेदन सडक निर्माणको लगानीकर्ता एक्जिम बैंकलाई जानकारी गराउँछौँ’, उनले भने, ‘भारतबाट स्वीकृत भयो भने अनि बल्ल सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ ।’ उनका अनुसार यो सडक चारलेन वा दुईलेन विस्तार हुने भन्नेबारे भारतले नै निर्णय गर्ने छ तर आयोजनाले भने चारलेन सडकका लागि प्रस्ताव गर्नेछ । ‘डिपिआरले मूर्तरूप पाएपछि हामीले चारलेन विस्तारकै लागि भनेर भारतलाई प्रस्ताव गर्छौँ’, उनले भने, ‘भारतबाट कस्तो प्रतिक्रिया आउँछ, लगानीकर्ताको निर्णय अनुसार चारलेन वा दुईलेन विस्तार हुने भन्ने टुङ्गो लाग्ने छ ।’

चारलेन सडक निर्माणको ठेक्का रद्द भएपछि सडकका खाल्डा पुरिए तर सडकको विस्तार भने एक इञ्च पनि भएन । पुरानै अवस्थाको सडकमा परेका खाल्डा पुरिए । यसले सवारी आवागमनमा केही सहज भने भएको छ । धुलोबाट यात्रु जोगिए तर साँघुरो सडकका कारण निम्तिएको सवारी दुर्घटनाको जोखिम भने कायमै छ । सवारी साधनको चाँप र साँघुरो सडकका कारण यो सडक खण्डमा दिनहुँजसो दुर्घटना भइरहेका छन् ।

विसं २०७५ माघ १४ गतेदेखि चारलेन सडक निर्माण गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले नेपाल सरकारबाट ठेक्का पाएको थियो । सडक विस्तार गर्ने जिम्मा पाएको यो भारतीय कम्पनीले स्थानीय पेटी ठेक्का कम्पनी (नेपालका निर्माण कम्पनी) लाई निर्माणको जिम्मा दियो । भारतीय निर्माण कम्पनीबाट सुरुमा यो सडक विस्तारको जिम्मा अष्टभैरव निर्माण सेवा कम्पनीले पायो ।

यो कम्पनीका मालिक एमाले केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डे हुन् । पाण्डेले सुरुवाती चरणमा काम ‘गरेको जस्तो’ देखाए । सडक चौडा पार्नका लागि खनीखोस्री गरे तर उनी यो निर्माणको काममा विस्तारै पछि हट्दै जान थाले । निर्माणका क्रममा मजदुरलाई ठगी गरेको उजुरीका चाङ दाङ प्रहरीमा लाग्यो । पछि भारतीय निर्माण कम्पनीले अनुपसँगको सम्झौता तोड्यो र पुनः अर्को पेटी ठेक्का कम्पनी चुन्यो । काम भने उस्तै शून्य प्रायः ।

फोरलेन सडक आयोजनाका अनुसार सडक चारलेन गर्ने ठेक्का पाएको भारतीय निर्माण कम्पनीले ६÷७ वटा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । ती कुनै पनि कम्पनीले चारलेन सडक निर्माणको काममा गति दिन सकेनन् । २०७८ साउन २७ मै निर्माण सकिसक्ने गरी सम्झौता भएको योजनाको सम्झौता अवधिलाई विभिन्न कारण देखाउँदै पटक–पटक लम्ब्याइयो । पहिलो चरणमा कोरोना सङ्क्रमणलाई कारण देखाएर २०७९ बैशाखसम्म म्याद थप भएको यो योजनाको अवधि यसै वर्षसम्म पुग्यो तर ५ वर्षको अवधिमा भएको कामको प्रगति भने जम्मा ९ प्रतिशत मात्रै रह्यो ।

ठेक्का सम्झौता भएको ५ वर्षको अवधिसम्म पनि कामले गति लिन नसकेपछि सडक आयोजना ठेक्का रद्दको प्रक्रियामा लाग्यो । सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीसँग सरकारले गत जेठमा ठेक्का तोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *