दाङ, १९ पुस । दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता २०८० को फाइनलमा घोराहीको नेपाल पुलिस बोर्डिङ स्कुल र जनज्योती विद्यामन्दिर भिड्ने भएका छन् ।
बुधवार भएका सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल घोराहीले शान्तिदीप स्कुल तुलसीपुरलाई र जनज्योती विद्यामिन्दरले आइडल बोर्डिङ स्कुललाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थीत रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस बोर्डिङ स्कुलले १ का विरुद्ध ३ गोलले शान्तिदीप स्कुल तुलसीपुरलाई हराउँदै फाइनलमा पुग्न सफल भएको हो।
त्यसैगरी दोश्रो सेमिफाइनल खेलमा जनज्योति विद्यामन्दिर घोराहीले आइडल बोर्डिङ स्कुललाई हराउँदै फाइनल पुग्न सफल भएको थियो। निर्धारित समयमा दुवै विद्यालयकातर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउनमा गएको थियो ।
पेनाल्टीमा जनज्योती विद्यामन्दिरले ८ का विरुद्ध ९ गोल गर्दै नेपाल प्रहरी बोर्डिङ स्कुलसँगको भेट पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल भोली विहीवार दिउँसा १ बजेदेखि सुरु हुनेभएको छ ।
जिल्लास्तरमा नयाँ खेलाडीको पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८०मा घोराही र तुलसीपुरका ४२ वटा विद्यालयहरुको सहभागीता रहेको लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका सञ्चालक समिर वलीले जानकारी दिएका छन् ।
प्रतियोगिता लुम्बिनी फुटबल एकेडेमीको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वय र न्यू स्टार फुटबल एकेडेमीको व्यवस्थापनमा पुसको १२ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।