बाराका प्रहरी प्रमुख सुरेश काफ्लेको एक्सन : नदीजन्य पदार्थको बिल देखाएर ट्रक भित्र प्याज तस्करी गर्ने पक्राउ

अर्थ/वाणिज्य समाचार
Spread the love

बारा । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार भन्सार छली गरि भित्र्याइएको १७ हजार सात सय ३० किलो लोड गरेको एक ट्रक नियन्त्रणमा लिएको छ।

ना ६ ख २६२५ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट चेकजाँचको क्रममा तस्करीको प्याज सहित नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

ट्रक भित्र नदीजन्य पदार्थ गिटी लोड गरेको भिसिटिएस अनलाइन बिलमा देखाइएको र ट्रकलाई चेकजाँच त्यस भित्र १७ हजार सात सय ३० किलो प्याज भेटिए पछि ट्रक सहित प्याज नियन्त्रणमा लिएको काफ्लेले बताए।

नियन्त्रणमा लिएको प्याजको बजार मूल्य नौ लाख ३० हजार आठ सय २५ रुपैयाँ मूल्य बराबर रहेको र त्यसलाई अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाइएको उनले बताए।

गत पुस ७ गते पनि बारा प्रहरीले वीरगन्ज–पथलैया व्यापारिक मार्गको जितपुर बजारबाट ६० बोरा अवैध प्याज सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको थियो।

वीरगन्जबाट चितवन जाँदै गरेको प्र २०३–००१ च ६२०३ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्दा बिल बिजक भन्दा बढी प्याज भेटिए पछि त्यसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

६० बोरामा राखिएको तीन हजार किलो प्याज सहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएर थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी उपरीक्षक काफ्लेले जनाए।

एक हप्ताको अन्तरालमा बारा प्रहरीले तस्करीको प्याज लोड गरेको ट्रक र पिकअप भ्यानलाई नियन्त्रणमा लिएको याे केवल उदाहरण मात्रै हो। नेपालसँग सिमाना जोडिएका भारतीय बजारमा थोकमा प्रति किलो प्याज ५५ देखि ६० रुपैयाँ किन्न सकिन्छ भने त्यसैलाई सीमावर्ती नेपाली बजारमा प्रति किलो ७५ देखि ८० रुपैयाँमा प्याज बिक्री हुने गरेको छ।

सीमा नाका कटाउने बित्तिकै प्रति क्विन्टल प्याजमा दुई हजारसम्म नाफा हुने गरेको व्यापारीहरु बताउँछन्। सीमा नाका कटाएर त्यही प्याजलाई काठमाडौँसम्म ढुवानी गर्दा लगानीको दोब्बर नाफा हुने भएकाले कारोबारीहरु प्याज तस्करी तर्फ लागेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

भारत सरकारले केही महिना पहिला प्याजको निर्यातमा प्रतिबन्ध लगाएको कारण पनि अहिले वैद्य बाटो भन्दा अवैध बाटोबाट प्याजको तस्करी बढेको पाइएकाे छ। भारतमै प्याजको मूल्य आकासिए पछि प्याजको मूल्य नियन्त्रणमा राख्न भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

गत अगस्टमा भारतले ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो। अक्टोबरको अन्त्यमा, प्याज निर्यातको लागि न्यूनतम निर्यात मूल्य प्रति टन ८०० डलर तोकिएको थियो। यी दुवै निर्णय ३१ डिसेम्बर २०२३ सम्म लागू हुने भएपनि अहिले भारतबाट प्याज तस्करी बढेको देखिएको छ।

पर्सा र बाराका सीमा नाकाहरूबाट भारतीय बजारबाट तस्करी गरी ल्याइएको प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनहुँ जसो नियन्त्रणमा लिने गरेका छन्। बारा प्रहरीले चालु आर्थिक वर्षको भदौ २४ देखि पुष ७ सम्ममा एक करोड ८७ लाख रुपैयाँको प्याज बरामद गरेको छ। प्रहरीले १७ हजार ५ सय किलो प्याज बाहेक चारवटा प्याजसहितको पिकअप नियन्त्रणमा लिएको प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउँछन्।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि अवैध बाटोबाट भित्र्याइएका प्याजलाई नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिन थाले पछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *