काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा सम्भवत: बिहीबारसम्म अन्तिम फैसला आउन सक्ने संकेत देखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ बुधबार बिहान् १०:३० बजेबाट निरन्तर अगाडि बढ्नेछ ।
दुवै पक्षका कानुन व्यवसायीहरूले बहस पूरा गरेसँगै यो मुद्दाको अन्तिम फैसला हुनेछ । एक जना कानुन व्यवसायीलाई एक घण्टाको समयसीमा तोकिएका कारण बुधबार फैसला आउन सक्ने सम्भावना न्यून छ । यस्तोमा बुधबार पनि हेर्दाहेर्दैमा रहेर मुद्दाले किनारा नपाउँदासम्म सुनुवाइ जारी रहने छ ।
सर्वोच्च अदालतले समेत सन्दीपको मुद्दालाई प्राथमिकता दिएर फैसला गर्न आदेश दिएपनि धेरै पटक विभिन्न बहानामा सर्दै आएको मुद्दाको अन्तिम फैसलाको सुरुवात न्यायाधीश ढकालको इजलासमा सुरु भैसकेको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकोले बुधबारबाट नियमित सुनुवाइ हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतको आदेस अनुसार नै यसअघि नै दुबै तर्फका कानुन व्यवसायीहरूले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्ब्याउन न्यायाधीशले इजलास समक्ष अपिल गरेका छन् ।
सन्दीपको यो मुद्दाको फैसलामा जाहेरीकर्ता गौशाला २६ को उमेरलाई सबैभन्दा प्राथमिकतामा दुबै पक्षले राखेका छन् । सन्दीपले गौशाला २६ माथी जबर्जस्ति सम्बन्ध राखेको कुनै संकेत वा प्रमाण नभेटिएको हुँदा यो मुद्दामा उमेर प्रधान बन्न पुगेको छ । यदी जाहेरिकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजिखुशीले नै शारीरिक सम्बन्ध राखेको भएपनी त्यो बलात्कार ठहरीने कानुनी व्यवस्था छ । गौशाला २६ नाबालिग प्रमाणित भइन भने सन्दीपलाई कम्तीमा १० वर्ष कैद हुनसक्ने सम्भावना रहन्छ ।
२१ भदौ २०७९ मा गौशाला २६ ले स्टार क्रीकेटर सन्दीप लामिछानेले बलात्कार गरेको भन्दै उजुरी दिएपछि २० असोजमा कतार एयरवेजको विमान मार्फत नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर २९ पुसमा २० लाख धरौटी बुझाएर रिहा भएका सन्दीप लामिछानेले यही मुद्दाकै कारण आफू डिप्रेसनमा जान लागेको तथा आफ्नो खेलमा ध्यान दिन नसकेको पटकपटक बताउँदै आएका थिए भने चिनको ग्वाङझाओमा सम्पन्न एसियाडमा सहभागीता जनाउन नसक्ने जानकारी दिएपछि नेपाल क्रीकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचीव पारस खड्काले पटकपटक छलफल गरेपछि मात्रै चीन जान सहमत भएका थिए ।
बलात्कार अभियोग लाग्नु अगाडि इन्डियन प्रीमियर लिग सहित अष्ट्रेलियन बिग ब्यास लिगदेखि क्यारेबियन प्रीमियर लिग समेत खेलेका सन्दीपलाई त्यसपछिको लीलामीमा कुनै पनि फ्रेन्चाइजीले लिन अस्विकार गर्दा अभियोग लागेपछिको १६ महिनामा उनको व्यवसायीक खेल करियर तहसनहस बनेको छ भने देशका लागि खेलेका अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन भने उनकै उत्कृष्ट प्रदर्शनको बलमा नेपालले आफ्नो ओडिआई मान्यता बचाएको मात्रै होइन सन् २०२४ मा हुने टी-२० अन्तर्राष्ट्रिय क्रीकेटको विश्वकपमा समेत सहभागीता सुनिश्चित गरेको छ तर, २०२४ को विश्वकपमा सन्दीप नेपाली टोलीमा हुने वा नहुने भन्ने कुराको फैसला भने न्यायाधीश ढकालको इजलासमा हुने छ ।
सन्दीपको मुद्दामा गौशाला २६ को उमेर महत्त्वपूर्ण हुँदाहुँदै पनि जिल्ला अदालत काठमाडौमा उनको तीन वटा अलगअलग उमेर खुल्ने कागजात पेश भएका छन् । गौशाला २६ पक्षका कानुन व्यवसायीहरूले पेश गरेको डकुमेन्टमा उनको जन्ममिती २०६२ साल असार १८ गते उल्लेख छ सोही जन्ममितिकै आधारमा नागरिक प्रमाणपत्र र एसईईको प्रमाणपत्र पनि रहेको बुझिएको छ । जस अनुसार हेर्दा क्रीकेटर सन्दीपलाई भेट्दा उनको उमेर १७ वर्षमात्र रहेको देखिन्छ ।
यता सन्दीप पक्षका कानुन व्यवसायीले अदालतमा पेश गरेको गौशाला २६ जन्मिएको नारायणी अञ्चल अस्पतालको रेकर्डमा उनको जन्ममिती २०६१ साल जेठ १८ गते उल्लेख भएको छ भने नुवाकोटको एउटा स्थानीय तहबाट गौशाला २६ ले नै निकालेको पहिलो जन्मदर्तामा २०६१ साल असार १८ गते रहेको सन्दीप लामिछानेका तर्फबाट अदालतमा पेश गरिएको डकुमेन्टमा उल्लेख गरिएका छन् ।
काठमाडौको शंकरापुरा नगरपालिकाबाट नुवाकोट बसाई सरेको गौशाला २६ को परिवारले बसाइँसराइका लागि शंकरापुरा नगरपालिकाको वडामा भरेको फारममा पनि २०६१ असार १८ गते उल्लेख गरेको भेटिएको छ । यही जन्ममितिलाई प्रमाणिकरण गरेर वडा कार्यालयले अदालतलाई पत्रसमेत पठाएकोले नगरपालिकाको यही पत्रलाई अदालतले स्वीकार गरे सन्दीपले सफाइ पाउने सम्भावना रहन्छ ।
यता गौशाला २६ को चौथो जन्ममिती पनि शंकरापुरा नगरपालिकामै फेला परेको र त्यहाँको ढड्डामा उनको जन्ममिती २०६३ असार १८ गते कायम गरेको समेत भेटिएको छ । तर, गौशाला २६ का कानुन व्यवसायीहरूले पनि उनको यो जन्ममितीलाई लिएर कुनै दाबी गरेका छैनन् ।
उमेर सम्बन्धि कागजातहरू विवादित भएको खण्डमा सबैभन्दा पुरानो कागजातलाई आधिकारिकता दिने प्रचलन छ । बालबालिकासम्बन्धि ऐन २०७५ ले पनि यो विषयलाई सम्बोधन गरेको छ ।
सो ऐनले उमेरको छिनोफानो गर्न अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्ता, उक्त जन्मदर्ता उपलब्ध नभएमा स्थानीय पञ्जिकाधीकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितीलाई आधार बनाइन्छ भने यो पनि नभएको खण्डमा विद्यालयको चारित्रीक प्रमाणपत्र वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरिएको जन्ममिती हेर्नुपर्ने व्यवस्था गरेको छ ।
बालबालिका सम्बन्धि ऐन २०७५ लाई हेर्दा गौशाला २६ को नाबालिग रहेको दाबी कमजोर बन्न सक्ने देखिएको छ । अब यो प्रकरणमा अदालतले के फैसला गर्छ त्यो त केही दिनमै प्रष्ट हुने नै छ । तर, पनि अदालतबाट सन्दीप दोषी होलान् कि निर्दोष ठहरिएलान भन्ने चासो भने सबैमा छ ।