सन्दीप लामिछानेविरुद्धको बलात्कार प्रकरण : स्थानीय तहले भन्यो ‘पीडितको जन्ममिति २०६१ असार १८ नै हो’

खेलकुद/मनोरन्जन समाचार
Spread the love

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइको तयारी भएको छ ।

२०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ । ३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ । आइतबारको पेसीमा सन्दीपको मुद्दा रहेको फाँट नम्बर २८ को गोला न्यायाधीशले तानेको अवस्थामा उक्त मुद्दामा फैसला हुने निश्चित जस्तै छ ।

मुख्यतः उमेर विवादमा केन्द्रीत रहेको यो मुद्दामा जाहेरवाली गौशाला २६ को जन्ममिति तीनवटा देखिएको छ । वादी नेपाल सरकारले गौशाला २६ नाबालिग हुन् भनेर उनको नागरिकताको प्रतिलिपि, एसइईको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपि निकालिएको जन्मदर्ताको प्रमाणपत्रको फोटोकपी पेश गरी जाहेरवालीको जन्ममिति २०६२ जेठ १८ गते रहेको दावी गरेको छ । यता प्रतिवादी सन्दीप लामिछानेतर्फका कानुन व्यवसायीहरुले भने जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ जेठ १८ गते रहेको तर जाहेरवालीले पहिले पेश गरेका कागजातमा जन्ममिति २०६१ असार १८ गते रहेको भनी कागजात पेश गरेकाले सोही मितिलाई आधिकारिक मान्नुपर्ने दावी गरेका छन् । जन्मदर्ता सूचना फारम, जन्मदर्ताको पहिलो प्रमाणपत्र, बसाइसराईको सूचना फारम र बसाइसराईको कागजमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गर्दै सोही मितिलाई प्रमाणका रुपमा लिनुपर्ने दावी गरेका छन् । जाहेरवालीको जन्म भएको भनिएको पर्साको एक अस्पतालको रेकर्डमा भने उनको जन्ममिति २०६१ जेठ १८ गते बिहान ६ बजे रहेको उल्लेख छ ।

उक्त अस्पतालको रेकर्ड बुकमा आमाको नाममा गौशाला २६ को आमाको नाम उल्लेख गरी त्यसको पछाडि देवी राखिएको छ । तराईका जिल्लाहरुमा विवाहितले सन्तान जन्माएमा नामको पछाडि देवी, अविवाहितले सन्तान जन्माएमा नामको पछाडि कुमारी र मुस्लिम समुदायको महिलाले सन्तान जन्माएमा नामको पछाडि खातुन लगायत मुसलमान समुदायको थर राख्ने गरेको देखिएको छ ।

उक्त रेकर्ड बुकमा गौशाला २६ को आमाको उमेर २८ वर्ष उल्लेख गरिएको छ । सोही मितिलाई आधार मान्दा उनको आमाको उमेर हाल ४६ वर्ष लागेको हुन्छ र स्थानीय तहमा रहेको भनिएको उनको आमाको जन्ममिति २०३५ फागुन २१ लाई हेर्दा म्याचिङसमेत भएको देखिन्छ । त्यो मितिलाई हेर्ने हो भने वारदात भएको भनिएको मितिमा जाहेरवालीको उमेर १८ वर्ष ३ महिना पुगेको हुन्छ । तर काठमाडौंको एक स्थानीय निकाय र नुवाकोटको एक स्थानीय तहमा रहेको सरकारी रेकर्डमा भने जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ असार १८ नै रहेको उल्लेख छ ।

जाहेरवालीको उमेरमा विवाद आई फरकफरक देखिएपछि काठमाडौं जिल्ला अदालतले २०८० जेठ ८ गते नुवाकोटको स्थानीय तहलाई जाहेरवालीको उमेर यकिन गरी पठाउन आदेश दिएको थियो । अदालतको चलानी नम्बर ०७९–३९–०३६००२ को पत्रको जवाफ उक्त स्थानीय तहले पत्र सङ्ख्या ०७९/८०, चलानी नम्बर ७१९ बाट दिएको छ । उक्त पत्रमा स्थानीय तहले स्पष्टरुपमा जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिँदा एसइईमा भएको जन्ममिति अनुसार सिफारिस गरिदिन निवेदन दिएकाले सोही अनुसार दिइएको उल्लेख गरेको छ ।

लोकपथलाई प्राप्त नुवाकोटको स्थानीय तहको पत्रमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिँदा के कति आधारमा उमेर घटाइएको हो भनेर लेखिएको छ । तीन बुँदामा लेखिएको स्पष्ट पारिएको पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ नै प्रमाणित हुने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *