अमर क्षितिज भण्डारी
दाङ । दाङमा समुदायमा रहेका कुकुरको बिगबिगी बढ्न थालेपछि बन्ध्याकरण अभियान थालिएको छ । १५ दिनको अवधिमा ५ सय कुकुरको बन्ध्याकरण गर्नुकोसाथै रेबिजविरुद्धको सुई लगाइएको छ । भुस्याहा कुकुरको सङ्ख्या घटाउन जिल्लाका १० वटै स्थानीय तहमा यो अभियान चलाइएको हो ।
केही दिनअघि तुलसीपुर-१८ हेमन्तपुरमा छाडा कुकुरले घरको आँगनमै पाँच वर्षीय बालकलाई टोकेर घाइते बनायो । सोही वडामा एक हप्ताको अवधिमा पाँच जनालाई कुकुरले टोक्यो । छाडा कुकुरको बिगबिगी रोक्न अहिले बन्ध्याकरणको अभियान थालिएको छ ।
जिल्लाको राप्ती गाउँपालिकाले सामुदायिक कुकुरको बिगबिगी बढेपछि ८ वटै वडामा शिविर सञ्चालन गरेर ३ सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । यसबाट आगामी दिनमा कुकुरको सङ्ख्यामा कमी आउने आशा गरिएको छ । यो कार्यक्रमलाई निरन्तरता दिने योजना पालिकाको छ ।
जिल्लामा छाडा कुकुरको यकिन तथ्याङ्क पालिकाहरुसँग नभएपनि घरमा पालिएका कुकुर नियन्त्रणबाहिर रहन थालेपछि छाडा छाडिदिने गर्नाले कुकुरको सङ्ख्या बढ्ने गरेको छ । छाडा छाडिएका कुकुर मार्न नपाइने भएपछि यसको नियन्त्रणको एकमात्रै विकल्प बन्ध्याकरण र रेबिजविरुद्धको खोप रहेको सरोकारवालाहरू बताउँछन् ।
कुकुरको टोकाइबाट लाग्ने रोग रेबिजका कारण नेपालमा हरेक वर्ष २ सयजनाले ज्यान गुमाउनुपरेको छ । इमानदार प्राणीका रूपमा चिनिने कुकुर मानवीय व्यवहारकै कारण आनीबानीमा परिवर्तन भएर खराब व्यवहार देखाउने अनुसन्धानले देखाएको छ । त्यसैले मानिसको व्यवहार सुधार र छाडा कुकुर नियन्त्रणमा स्थानीय सरकारले दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने देखिन्छ ।