आफ्नो भविष्य असुरक्षित देखेकाहरूले एमाले र नेतृत्वमाथि प्रहार गरिरहेका छन : महासचिव पोखरेल

राजनीति समाचार
Spread the love

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि राष्ट्रलाई बलियो बनाउन संस्कार र संस्कृतिलाई जोडेर लैजानुपर्ने बताउनु भएको छ ।

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवं जलपान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले संस्कृतिलाई समाजको एकताको रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । विगतमा दशैँ तिहार बहिष्कार भन्दै हिँड्ने माओवादी अहिले ढोका थुनेर पर्व मनाउन लागेको भन्दै महासचिव पोखरेलले संस्कृतिका मामलामा माओवादीको विचार गलत साबित बताउनु भयो । ‘आज माओवादीका नेताहरू घरभित्र लुकेर दशैँ मान्न बाध्य छन’, उहाँले भन्नुभयो ।

यतिबेला नेपालमा समाज माथि सांस्कृतिक आक्रमण भइरहेको पोखरेलले बताउनुभयो । हिजो माओवादीले समेत कसैबाट प्रयोग भएर नेपाली संस्कृतिमाथि प्रहार गरेको उहाँले दाबी गर्नुभयो । ‘आज नेपाली समाजलाई जसरी विभाजन गर्ने प्रयास गरिँदै छ, त्यसबाट सजग र सतर्क हुन जरुरी छ’, उहाँले भन्नुभयो ।

उहाँले अहिले देशको हरक्षेत्र संकटग्रस्त भएको बताउनुभयो । एक प्रकारले नेपाली समाज निराशातर्फ गइरहेको उहाँले बताउनुभयो । युवा, विद्यार्थीले नेपाल छाड्ने क्रम बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्र निर्माणको लागि नागरिक लाग्ने वातावरण बनाउन सरकार लाग्नु पर्नेमा त्यस्तो हुन नसकेको पोखरेलले बताउनुभयो ।

राष्ट्रलाई कमजोर बनाएर कुनै पनि व्यक्ति बलियो हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रलाई बलियो बनाउन राजनीतिक दल बलियो हुनुपर्ने पोखरेलले बताउनु भयो । साना साना राजनीतिक दलले देश बलियो हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘मुलुकलाई संकटमा राखेर परिवार व्यक्ति सुखी हुन सक्दैनन,’ उहाँले भन्नुभयो ।

अहिले जनताले नस्विकारेको शक्तिले शासन गरिहरेको कारण देशले यो अवस्था भोग्नु परेको पोखरेलले बताउनुभयो । जनताबाट बहिष्कृत भएको शक्तिले चलाएको शासन सत्ता यस्तै हुने उहाँको धारणा छ । देशको समृद्धिको लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको पोखरेलले बताउनुभयो ।

अहिले एमालेको विरुद्ध सबैतिरबाट आक्रमण भएको उहाँले बताउनुभयो । आफ्नो भविष्य असुरक्षित देखेकाहरूले एमाले र एमालेको नेतृत्व माथि प्रहार गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

देशभक्त शक्तिलाई कमजोर बनाउन सकियो भने नेपाललाई वैदेशिक शक्ति केन्द्रको क्रिडास्थल बनाउन सकिन्छ भनेर एमाले माथि आक्रमण भइरहेको छ । ‘पछिल्लो समयमा दुईवटा शक्तिलाई केन्द्रबिन्दुमा राखेर प्रहार गर्ने र कमजोर बनाउने प्रयत्न भइरहेको छ, एउटा नेकपा एमाले, अर्को नेपाली सेना, वास्तवमा नेपालका यी दुईवटा शक्तिले नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई जोगाउने काम गरिरहेका छन्’, पोखरेलले भन्नुभयो ।

यसका विरुद्ध सम्पूर्ण देश भक्तहरू एक ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले नेपाली सेनालाई कुनै पनि अवस्थामा कमजोर हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *