दाङ । बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी ।
सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको अफेयर सुरू भयो । सृष्टीले छाडेपछि मनोज रन्थनिएका थिए । उनी पटक-पटक सृष्टीको विद्यालयमा जाने गर्थे । प्रिन्सिपल सर्राफले उनलाई यसरी बारम्बार आफ्नो विद्यालयमा नआउन दबाब दिए । तर, मनोज आउन छाडेनन् ।
प्रहरीका अनुसार एकदिन उनले पुर्वप्रेमिका सृष्टीलाई विद्यालयमै कुटपिटमात्रै गरेनन्, प्रिन्सिपल सर्राफलाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की दिए । लफडा भएपछि रूपेशले पनि सृष्टीलाई जागिरबाट निकालिदिए । त्यसपिछ सृष्टी रूपेशसँग आगो भएकी थिइन् ।
अपराधिक मनोवृत्तिका मनोजले यसअघि दुईपटक सर्राफको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । एकपटक साउन १३ गते र अर्कोपटक भदौ २८ गते उनलाई कलैया गोली हान्न खोजिएको थियो । त्यसबेला सर्राफ भागेर जोगिएका थिए । यसरी हत्या प्रयास हुँदा पनि सर्राफले प्रहरीमा उजुरबाजुर गरेनन् । विवाहित भएकाले उनी आफूहरुको प्रेम सम्वन्ध सार्वजनिक हुने त्रासमा थिए ।
अर्कोतिर सृष्टी पनि आफूमाथि भारतीय नागरिकले कुटपिट गर्दा प्रहरीमा गइनन् । उनलाई पनि विवाहित पुरुषसँग प्रेममा रहेको विषय बाहिर आउने डर थियो । सृष्टी र मनोज अविवाहित हुन् ।
अन्ततः भारतीय सुटर प्रयोग गरी सोमबार दिनदहाडै गोली हानेर हत्या गरिदिए । हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोजसहित ३ जना भारतीय, सृष्टी, र उनकी दिदीसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।