तुलसीपुर, ३ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मावि सेन्टर स्कुल दाङकै नमूना विद्यालयका रुपमा विकास हुँदै गएको बताउनु भएको छ । दाङको तुलसीपुर ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ८ कोठे प्रशासनिक भवनको उद्घाटन गर्दै पोखरेलले दाङमा सयौं विद्यालय भएपनि भौतिक र शैक्षिक सुधारका लागि भागवत पौडेल जस्तो जागरुक शिक्षक आफूले कमै देखेको बताउनुभयो ।
जुन ठाउँको नेतृत्व सबल हुन्छ त्यस ठाउँमा विकासले फड्को मार्ने बताउँदै उहाँले शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू सक्षम हुनुपर्ने बताउनुभयो । विगतमा दाङमा नाम चलेका स्कुल ओझेलमा पर्नु र मावि सेन्टर मेघा विद्यालय बन्नुमा विद्यालयका प्रअ पौडेलको ठूलो भूमिका रहेको बताउँदै महासचिव पोखरेलले आफूले सहयोग मात्र गरेको बताउनुभयो । साे अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्का, सुशील बस्नेत, शिक्षक भोला पौडेल लगायतले बोल्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको शैक्षिक उपलब्धि, वर्तमान अवस्था र चुनौतीका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । हाल २५ सय विद्यार्थी संख्या रहेको विद्यालयमा पाँच वटा प्राविधिक धारका कक्षहरू पनि सञ्चालन भइरहेका छन् । संस्थापक मुख्यमन्त्री पोखरेलको पहलमा एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यो सँगै विद्यालयमा ७ वटा भवन रहेका छन् । जहाँ ८० शिक्षक कर्मचारी कार्यरत छन् ।