प्रशासनको बजार अनुगमनः बजारमा अखाद्य वस्तु बिक्री, बुटवल बेकरीमा प्रशासनको अनुगमन टोली

अर्थ/वाणिज्य समाचार
Spread the love

घोराही । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा बजार अनुगमन शुरु गरेको छ । नजिकिदै गरेका दशैं, तिहार, छठलगायतका चाडमा उपभोक्ता ठगिएको गुनासो आएपछि अनुगमन शुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय निकायको उपभोक्ता हित संरक्षण शाखाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा सोमबारदेखि घोराहीमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेबल नभएका, उपभोग्य म्याद नाघेका खाद्यवस्तु फेला परेको अनुगमन टोलीकी संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो । पाउरोटीभित्र क्रिम राख्ने फलामको रड उपभोक्ताले खरिद गरेपछि फेला परेको उजुरीको आधारमा शुरुमा बुटवल बेकरीमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रस पाउरोटी र केक खुलारुपमा राखेको फेला पारेपछि एक हजार एक सय ५० रुपैयाँ बराबरको पाउरोटी र केक जफत गरिएको छ ।

त्यसैगरी घोराही–१४ मा रहेको प्रतिभा ट्रेडर्स प्रालिबाट म्याद नाघेको आठ सय रुपैयाँ खुद्रा मूल्य रहेको ४२ प्याकेट हुलास चामल र एक हजार दुई सय रुपैयाँ खुद्रा मुल्य रहेको पाँच प्याकेट हुलास बासमती चामल जफत गरिएको छ । ३९ हजार छ सय रुपैयाँ बराबरको म्याद नाघेको चामल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका नासु भुपेन्द्र सिंह थापाले जानकारी दिनुभयो । त्यस्तै गणपति इन्टर प्राइजेजमा रातो सिमी र भटमास लेबल नभएको फेला परेको प्रशासन कार्यालयले जानकारी दिएको छ । बञ्जाडे किराना पसलमा पनि म्याद गएको पेय पदार्थ र चिजबल फेला परेको थियो । म्याद नाघेको खाद्यवस्तु प्रशासनले नियन्त्रणमा लिएको छ । जफत गरिएको अखाद्य वस्तु नष्ट गरिने प्रशासनले जनाएको छ ।

अनुगमन टोलीकी संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले नियमित अनुगमन भइरहने बताउँदै घोराही नगरपालिकाको समन्वयमा डम्पिङ साइटमा लगेर सबै जफत गरेको सामग्री नष्ट गरिने जानकारी दिनुभयो । ‘बजार अनुगमन नियमित चल्छ’– उहाँले भन्नुभयो– ‘हरेक दिन जम्मा भएको सामग्री एकै पटक नष्ट गर्छौं ।’ उहाँले चाडवाडका समयमा कालोबजारी गर्ने, बढी मूल्यमा बेच्ने, स्टक लुकाउने, म्याद नाघेको सामग्री बेच्ने, बिलबिना कारोबार गर्ने जस्ता क्रियाकलाप नगर्न पनि व्यवसायीलाई अनुरोध गर्नुभएको छ । साथै उपभोक्ताले पनि म्याद राम्रोसँग हेरेर सामग्री खरिद गर्नुपर्ने र सामानको बिल लिनुपर्ने बताउनुभएको छ । बिल नदिने व्यवसायीलाई कारवाही हुने बताउँदै उहाँले बिल नपाएमा उजुरी गर्न समेत अनुरोध गर्नुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले मापदण्डभित्रै रहेर गोदाममा खाद्य बस्तु राख्नुपर्ने बताउँदै गोदाममा मुसा मार्न विषादीको प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले लेबलमा उल्लेख गर्नुपर्ने सबै कुरा उल्लेख गरेर मात्रै सामान बजारमा पठाउन उद्योग सञ्चालकलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *