घोराही, ४ भदौ । नेपाल पत्रकार महासंघ, दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
अनुसन्धान केन्द्रको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पोख्रेलले पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरूको बौद्घिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपाल नेपालका सदस्य शरद अधिकारी, पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पूर्वअध्यक्ष केवी मशाल, सल्लाहकार तथा पूर्वअध्यक्षहरू सुदीप गौतम र सविन प्रियासन, सल्लाहकार लक्ष्मी आचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी दाङका निवर्तमान अध्यक्ष जेएन सागर र प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव आरके शीतलले गर्नुभएको थियो ।
सो अवसरमा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले एक दर्जन पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।