लुम्बिनी फुटबल एकेडेमीमा विदेशी प्रशिक्षक नियुक्त

अर्थ/वाणिज्य खेलकुद/मनोरन्जन समाचार
Spread the love

घोराही, २२ असार ।
फुटबलको व्यावसायिक विकासका लागि लुम्बिनी फुटबल एकेडेमी, घोराहीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ ।

लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीको रुपमा परिचय बनाएको लुम्बिनी फुटबल एकेडेमीले एकेडेमीमा आवद्ध प्रशिक्षार्थीहरूलाई गुणस्तरीय प्रशिक्षण दिन अफ्रिकी मुलका प्रशिक्षक भित्र्याएको एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, डिम अब्राहम मुख्य प्रशिक्षक र मार्को गापुजो सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ । उहाँहरुलाई शनिबार प्रशिक्षकको जिम्मेवारी प्रदान गर्दै नियुक्ति पत्र समेत दिईएको छ ।

गत वर्षको साउन महिनाबाट प्रशिक्षण थालनी गरेको एकेडेमीले विभिन्न जिल्लाबाट २७ जना खेलाडी ३ जना प्रशिक्षक तथा शिक्षक राखेर सेवा प्रदान गर्दै आएको छ ।

प्रशिक्षणमा रहेका मध्ये ६ जना विपन्न तथा गरिब विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति तथा १२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष वलीले बताउनुभयो ।

फुटबल प्रशिक्षणसँगै खेलाडीहरुलाई गुणस्तरीय खाना, पढाई, जीवन उपयोगी सिप, व्यक्तित्व विकास बारे पनि ज्ञान दिइने गरिएको उहाँले बताउनुभयो ।

विभिन्न उमेर समूहका फुटवल खेलाडीलाई आवासीय रुपमा प्रशिक्षण दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल भावना जगाउने, स्वस्थ युवा र समाज निर्माण गर्ने तथा खेल संस्कारको विकास गर्ने, फुटवललाई व्यवसायिक रूपमा रूपान्तरण गर्दै देशलाई आर्थिक टेवा दिने, खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने एकेडेमीको उद्देश्य अनुसार काम भईरहेको उहाँको भनाई छ ।

एकेडेमीका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा खेलाडीहरुको सहभागिता वढ्ने, अभिभावकहरु आफना बच्चाहरुलाई खेलकूदमा लाग्न प्रोत्साहित गर्ने, खेलको माध्यमबाट विभिन्न कुलत तथा दुव्र्यसनमा लाग्ने युवाको संख्यामा कमी आउने तथा खेल पर्यटनमार्फत देशको आर्थिक स्थितिमा टेवा पुग्ने अपेक्षा समेत गरिएको अध्यक्ष वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *