दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष बुढाथोकीले पालिकाभित्रमा यस्तो खाले तालीम पहिलोपटक भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो। तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्न सके स्थानीय स्तरमै स्वरोजगार बन्न सकिने र विदेश पलायन हुने संख्या कम हुने उहाले बताउनुभएको थियो।
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा युवाहरूसँग गाउँपालिकाले सहकार्य गरेर अगाडि बढ्ने उहाको भनाइ थियो।
गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले विपन्न सीमान्तकृत एवं महिला र १६ वर्षमुनिका बालबालिकाहरूको लागि सुरक्षित आवास अत्यावश्यक रहेको बताउनुभयो। विपदको समयमा बढी प्रभावित हुने समूहका लागि सुरक्षित आवास बन्न थालेको प्रति खुसी व्यक्त गर्नुभयो। उनले पालिकामा घरविहीन भएका नागरिकहरूका लागि सुरक्षित आवास निर्माणमा काम गर्ने बताउनुभएको थियो ।
इन्क्लुसिभ डिजाइनर्स एअन्ड बिल्डर्सका अध्यक्ष निरोज श्रेष्ठले राजपुर गाउपालिकासंग पहिलोपटक सहकार्य हुन लागेको बताउनुभएको थियो ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संस्थाले समाजिक सेवासंगै आयआर्जनका कार्यक्रमहरु गर्दै आएको र घरबासबिहिनहरुको घर बनाऊँन पाउदाँ पुण्यको काम हुने भएकोले यसलाई समुदायमा आय आर्जनका लागि पनि जोड्ने बतानुभएको थियो । सीप सिकेर व्यबहारमा लागू गर्न सके समुदायमै आयआर्जन गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा इन्क्लुसिभ डिजाइनर्स एअन्ड बिल्डर्सका प्रबन्ध निर्देशक कुशल श्रेष्ठ, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य र मनकामना डेभलपमेण्ट सोलुसनका अध्यक्ष रुमेंल पुन, भीटा परियोजनाका कार्यक्रम संयोजक गिरिराज भट्ट लगायतको उपस्थिति रहेको थियो । एकमहिने तालिममा १० जना युवाहरुले घर निर्माण सम्बन्धी प्रशिक्षण लिनेछन । तालिमको उद्घाटनसत्रको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।