काठमाडौं । सर्पदंशबारे समाजमा मिथ्या धारणाले जरो गाडेको चिकित्सकहरू बताउँछन् । सर्पको टोकाइबारे अन्धविश्वासले प्राथमिकता पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमरजेन्सी बिभागका इन्चार्ज, एमडिजिपि डा. उमाकान्त तिवारीको भनाई छ ।
अहिले पनि सर्पले टोकेका मानिसलाई धामीझाँक्री फुकेर निको पार्न सक्छन् भन्ने धारणा समाजमा विद्यमान रहेको र यो गलत बुझाइ रहेको उनले बताए । झारफुकबाट सर्पको विष निष्तेज गर्न नसकिने भन्दै उनले लापरवाहीका कारण शरीरमा विष फैलिएमा मानिसको मृत्युसमेत हुन सक्ने प्रस्ट पारे ।
अझै पनि कतिपय गाउँघरमा धामीझाँक्रीले फुकेर सर्पको विष निष्तेज बनाउन सक्छन् र बिरामी निको हुन्छ भन्ने मानसिकताले जरो गाडेको छ ।
चिकित्सकका अनुसार सर्पदंशका कारण उपचारका लागि अस्पताल पुग्ने बिरामीमध्ये १० प्रतिशतको शरीरमा मात्र सर्पको विष पाइने गरेको छ । ९० प्रतिशतको शरीरमा विषको मात्रा नपाइनुका पनि विभिन्न कारण रहने उनको भनाइ छ । ‘उनीहरुलाई या त विषालु सर्पले टोकेको हुँदैन, या विषालु सर्प भए पनि उसले मानिसको शरीरमा विष छोड्न भ्याएको हुँदैन,’ एक जना चिकित्सकले भने, ‘त्यसैले ९० प्रतिशतमा विषको असर देखिएको हुँदैन ।’
सर्पले टोकेको भन्दै धामीझाँक्रीकहाँ जाने बिरामीमध्ये यिनै ९० प्रतिशत (शरीरमा सर्पको विषको मात्रा नभएकाहरु) आफू झारफुकबाटै निको भएर फर्किएको भ्रममा पर्ने गरेको चिकित्सकहरुको बुझाइ छ । ‘यसले गर्दा झारफुकबाट पनि सर्पदंशको उपचार हुन सक्ने रहेछ भन्ने अन्धविश्वास समाजमा व्याप्त हुन पुग्छ,’ ती चिकित्सकले भने, ‘जबकि शरीरमा विष रहेको मानिसलाई झारफुकले निको पार्न सकिँदैन, उसलाई अस्पतालमै लगेर एन्टिभेनम औषधि दिनुपर्ने हुन्छ ।’
अन्धविश्वासका कारण सर्पदंशका कतिपय बिरामीको मृत्यु हुने गरेको डा. तिवारी बताउँछन् । उनले भने, ‘धामीझाँक्रीकोमा गएका सबै जनालाई निको भयो, एक÷दुई जनाको ज्यान उसकै भाग्यका कारण गयो । अरुलाई त झारफुक गरेरै बचाएको हो नि भन्ने अन्धविश्वास समुदायमा छ,’ उनले भने ।
Advertisement:
सर्पले टोकेका आंशका लागेमा तत्काल अस्पताल जान उनको सुझाव छ । समयमै उपचार गरेर सर्पले टोकेका बिरामीलाई बचाउन सकिने उनी बताउँछन् ।
नेपालमा सर्पको टोकाईबाट औसतमा वार्षिक २०० जनाले ज्यान गुमाउने गर्छन् । जसमध्ये कतिपयको अङ्गभङ्ग हुने गर्छ ।
सर्पले टोकेपछि के गर्न हुँदैन ?
सर्पले टोकेपछि अस्पताल नपु¥याउँदै घरमै प्राथमिक उपचार भनेर गलत कार्य गरिँदै आएको डा. तिवारीले बताए । चिकित्सकका अनुसार सर्पले टोकेपछि वा टोकेको शंका लागेमा यस्ता कार्य गर्न हुँदैन–
– सर्पले टोकेको ठाउँभन्दा माथि रगत सञ्चार नहुने गरी बाध्न हुँदैन ।
– सर्पले टोक्दा सानो बच्चालाई कम र ठूलालाई बढी विष फाल्छ भन्ने हुँदैन । टोेकेपछि सबैमा बराबार विष फाल्छ ।
– सर्पले टोक्दा मानिसको शरीरमा दुईवटा निशान हुन्छ भन्ने धारणा छ । तर, कहिलेकाहीँ एउटा मात्रै निशान हुनसक्छ । त्यसैले एउटामात्र निशान देखियो भन्दैमा सर्पले टोकेको होइन भनेर बस्न हुँदैन ।
– टोकेको भाग नजिकै सुइले रगत तान्ने, विभिन्न झारपात लगाउने लगायतका कार्य गर्नु हुँदैन ।
– सर्प टोकेपछि अस्पताल नपुगुन्जेल शरीर चलाउने वा हिँड्नु हुँदैन ।
– घडी, औंठी, पेटी खोल्नुपर्छ ।
Advertisement:
सर्पले टोकेर अस्पताल पुगेकालाई अस्पतालमा समेत केही समय अब्जर्भेसनमा राखेर लक्षणका आधारमा औषधि दिइने डा. तिवारीले बताए ।
सर्पले टोक्दा विभिन्न किसिमका लक्षण देखिन्छन् । जस्तै–
– सर्पको विषले गिजा, पिसाबबाट, नाक लगायतका ठाउँबाट रगत बग्छ ।
– आँखा लठ्ठ हुने ।
– जिब्रो बाहिर निकाल्न नसक्ने ।
– घाँटी लत्रिने ।
– बोली लरबराउने ।
– टोकेको ठाउँमा दुख्ने ।
– टोकेको भाग सुन्निने ।
नेपालमा पाइने सर्प
जलवायु परिवर्तनका कारण सबै प्राणीले झैं बाँच्नका लागि सर्प पनि संघर्षरत रहेको हुन्छ । विगतमा पहाडी जिल्लामा सर्पको प्रभाव कम रहने गरेकोमा अहिले पहाडी जिल्लामा समेत सर्प देखिने गरेको छ ।
नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।
सर्पले टोक्दा दिइने एन्टीभेनम देशका ९० सरकारी अस्पतालमा उपलब्ध छ ।
सर्पले मानिसलाई किन आक्रमण गर्छ ?
जहाँ आगो बढी बालिन्छ, त्यहाँ सर्प धेरै हुने चिकित्सक बताउछन । सर्पले कहिल्यै पनि मान्छेलाई आफै आक्रमण गर्न आउदैन ।
‘धेरैजसो सर्प साह्रै लजालु प्रकृतिका हुन्छन् । सर्पहरू पनि मान्छेसँग डराउँछन् । जब सर्पमाथि आक्रमण गरिन्छ, तब उसले आफ्नो सुरक्षाका लागि टोक्ने गर्छ,’ एक जना चिकित्सकले भने ।
करेत सर्प दिउँसोभन्दा रातमा सक्रिय हुने भएकाले राति बढी टोक्ने गर्दछ । गर्मी समयमा सिमेन्ट, माटो तात्ने भएकाले कतिपय मानिस राति बाहिर सुत्ने गर्दछन् ।
बाहिर झुल नटाँगिकन सुत्दा सर्पले टोक्न सक्छ ।
आहारको खोजीमा निस्किएको सर्पलाई मानिसको हलचलले असुरक्षाको महसुस हुँदा प्रतिकारस्वरुप टोक्नसक्ने हुन्छ । करेत सर्पले राति टोक्दा कतिपयले थाहासमेत नपाउने र सुतेकै अवस्थामा शरीरभरि विष फैलिएर मानिसको मृत्यु हुन सक्ने सम्भाबना हुन्छ ।
Advertisement:
सर्पलाई नमारौँ
बालीनाली सुरक्षा गर्न सर्पको महत्त्वपूर्ण भूमिका हुने चिकित्सकको भनाई छ ।यसले बालीनाली खाने मुसालाई आहार बनाउछ ।
नेपालमा सर्प देख्नासाथ मारिहाल्नुपर्छ भन्ने धारणा रहेको भन्दै उनले यस्तो धारणा गलत रहेको चिकित्सकको भनाई छ ।