काठमाडौं, वैशाख ४ । एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले दिएको जाहेरी तामेलीमा राख्ने काठमाडौं प्रहरी परिसरको निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले सदर गरेको छ।
झण्डै तीन साताअघि ती महिलाले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्।
सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि प्रहरीले दर्ता गरेर जाहेरीबारे नै छानबिन गरेको थियो। काठमाडौं प्रहरीले छानबिन गर्दा जाहेरी झुटा र काल्पनिक देखिएको भन्दै मुलुकी कार्यविधि संहिताको दफा ११ बमोजिम तामेलीमा राख्ने राय सरकारी वकिलकहाँ पठाएको थियो।
सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र संजेलले पछि प्रमाणबाट देखिए जाहेरीमाथि छानबिन अघि बढाउने गरी अहिले तामेलीमा राख्न प्रहरीले गरेको निर्णय संहिताको दफा ११ को उपदफा २ बमोजिम सदर गरी मिसिल फर्काइएको जानकारी दिए।
उपदफामा २ मा भनिएको छ- (१) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित सरकारी वकिल कार्यालयले त्यस्तो कसुरको सम्बन्धमा तत्काल अनुसन्धान गर्न मनासिव आधार नदेखिएमा त्यसको कारण खुलाई थप प्रमाण प्राप्त हुन आएका बखत अनुसन्धान गर्न सकिने गरी तत्काल तामेलीमा राखे वा वारदातको प्रकृति अध्ययन गर्दा तत्काल अनुसन्धान गर्न उपयुक्त हुने देखेमा कारण खुलाई थप अनुसन्धान गर्न अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ।
बस्नेतसँगको सहवासबाट बच्चा बसेको गर्भ गलत औषधि खुवाएर पतन गराइदिएको महिलाको उजुरीमा सत्यता नभएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो। भक्तपुर सामुदायिक अस्पतालले बस्नेतको २०७२ सालमै परिवार नियोजन गरेको भन्दै पठाएको पत्रलाई ती महिलाको दाबी झुटो भएको आधारका रूपमा अर्थ्याएको छ।
महिलाले जाहेरीमा यसअघि पोखरास्थित चरक अस्पतालमा गर्भपतन गराउँदा बस्नेतले हस्ताक्षर गरेको रिपोर्टको फोटोकपी जाहेरीसाथ पेस गरेकी थिइन्। त्यो रिपोर्ट नै आफ्नो नभएको भनेर चरक अस्पतालले लेखी पठाएको पत्रलाई पनि जाहेरी झुटो भएको प्रमाणका रूपमा प्रहरीले लिएको छ।
यसअघि आफूहरूबारे भ्रम फैलाएको भन्दै बस्नेत र ती महिलाले प्रहरीमा एक युट्युबरविरूद्ध संयुक्त जाहेरी दिएका थिए। त्यो जाहेरीअघि नै आफूलाई बस्नेतले बलात्कार गरेको भनेर अहिले आएर महिलाले उजुरी दिनुलाई नै प्रहरीले शंकास्पद मानेको छ।
Advertisement:
बस्नेतले अपरिचित व्यक्तिहरूलाई आफ्नो अपार्टमेन्टमा पठाएर सामान चोरी गरेको आरोप महिलाले लगाएकी थिइन्। त्यो आरोप पनि पुष्टि नहुने जाहेरी माथिको छानबिनमा देखिएको प्रहरीको भनाइ छ।
यी सबै प्रारम्भिक प्रमाणहरूले नै जाहेरी झुटो देखाएकाले तामेलीमा राख्ने निर्णय सदर गरेको सरकारी वकिल संजेलले बताए।
बस्नेत र आफ्नो दस वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्क्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी थियो।
मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा बस्नेतले जबरजस्ती करणी गरेको पीडितको दाबी छ।
‘यसरी निज कसुरदारले म जाहेरवालालाई मिति २०८० मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पतालमा एक पटक र मिति २०८०/११/०७ मा अपार्टमेन्टमा एक पटक गरी दुई पटक जबरजस्ती करणी गरेको हुँदा निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिमको कसुरमा हदै सम्मको कारबाही गरी न्याय इन्साफ दिलाई पाऊँ,’ जाहेरीमा भनिएको छ, ‘त्यस्तै निज कसुरदारले म जाहेरवालालाई झुक्क्याएर थाहा/जानकारी नदिई औषधि खुवाएर म जाहेरवालाको पेटमा रहेको दुई महिना १५ दिनको गर्भ पतन गराएको हुँदा निज कसुरदारको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को विपरीतको कसुर भएको हुनाले निज कसुरदारलाई उक्त कसुरमा समेत हदैसम्मको सजाय गरी पाऊँ।’
फागुन ८ गते बिहान बस्नेतले दुई जना व्यक्ति पठाएर आफ्नो मोबाइल, ल्यापटप, सुनका गहना, हिराको औंठी लगायत सामान लुटेर लगेको आरोप पनि पीडित महिलाले लगाएकी छन्।
‘कसुरदारले मिति २०८०/११/०८ गते प्रमाण नष्ट गराउने उद्देश्यले म जाहेरवालाको अपार्टमेन्टमा दुई जना मान्छे पठाइ मोबाइल थान ३, ल्यापटपको हार्डडिस्क, साढे तीन तोलाको सुनको ब्रासलेट, डेढ तोलाको बेरूवा औंठी, एउटा सुन र अर्को हिरा समेत दुईवटा औंठी समेत चोरी गरेको हुँदा निज महेश बस्नेत र नाम नखुलेको अर्का दुई जनालाई समेत अनुसन्धान गरी निजहरूलाई समेत मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (१) (घ) बमोजिमको कसुरमा समेत हदै सम्मको कारबाही गरी पाऊँ,’ जाहेरीमा भनिएको छ।