घोराहीले सडक बत्तीको साढे तीन लाख विद्युत बक्यौता बुझाएन

अर्थ/वाणिज्य समाचार
Spread the love

अमरराज आचार्य
दाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले सडक बत्ती बालेवापत तिर्नु पर्ने साढेतीन लाख रुपैयाँ विद्युत महसुल तिरेको छैन । उपमहानगरले विद्युतलाई तिर्नु पर्ने रकम तीन लाख ३७ हजार रुपैयाँ नतिरेको विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । उपमहानगरले सडक बत्तीवापतको महसुल साढे ५ वर्षदेखि तिरेको छैन ।

घोराही उपमहानगरबाट सडक बत्तीको महसुल तीन लाख ३७ हजार तीन सय ४५ रुपैयाँ रकम उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण शाखाका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिए । यो रकम जरिवाना बाहेकको रहेको उनको भनाइ छ । यसमा २५ प्रतिशत जरिवाना लाग्ने शर्मा बताउँछन् ।

विद्युतले उपमहानगरलाई विद्युतको बक्यौता रकम बुझाउन पत्राचार गरिरहेको छ तर उपमहानगरले भने तिर्न अटेर गरिरहेको छ । पालिकालाई सडक बत्तीको रकम तिर्न पटक–पटक आग्रह गर्दा समेत रकम नबुझाएको शर्माले जनाए । कुनै पनि पालिकाभित्र बल्ने सडक बत्तीको विद्युत महसुल रकम पालिकाले तिर्नु पर्ने हुन्छ । विद्युत घोराही शाखाले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउपालिकाको सडक बत्तीको महसुल हेर्ने गरेको छ तर बंगलाचुलीमा यस प्रकाको समस्या भने देखिएको छैन । अहिले सडक बत्ती प्रयोग गरेवापत रकम नतिरेपछि लाइन काट्न समेत सुरु गरिएको छ । ‘सडकको लाइन काटेपछि उपभोक्ता आक्रोशमा आउने गर्नुहुन्छ’, उनले भने । नागरिकले कुरा नबुझ्दा आक्रोशित हुने गरेको समेत उनी बताउँछन् ।

Advertisement:


अहिले पैसा नबुझाउनेको लाइन काट्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । केन्द्रको निर्देशन अनुसार सडक बत्तीको लाइन काट्न सुरु गरेको हो । बत्ती बालेर पनि पैसा नतिर्ने गरेपछि रकम उठाउन केन्द्रले यस प्रकारको अभियान सुरु गरेको बताइएको छ । यता घोराही उपमहानगरले भने सडक बत्तीको महसुल निरन्तर तिरिरहेको दाबी गर्छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले उपमहानगरले सडक बत्तीको विद्युत महसुल तिर्न बाँकी नरहेको दाबी गरे । ‘सडक बत्तीमा मिटर जडान छैन तर पहिलेदेखि जसरी महसुल बुझाउँदै आइएको थियो उसैगरी एकमुष्ठ रकम हामीले बुझाउँदै आएका छौँ’, प्रमुख चौधरीले भने, ‘उपमहानगरले सडक बत्तीवापत तिर्नु पर्ने रकम छैन ।’
विद्युत कार्यालय संग नागरिक समाजको छलफल

विद्युतले रकम नतिर्ने सडक बत्तीको लाइन काटेपछि नागरिक समाज दाङले विद्युत प्राधिकरण घोराही शाखासँग छलफल गरेको छ । सडक बत्तीको लाइन काटिदिँदा नागरिकले समस्या भोग्नु परेको भन्दै समाजले विद्युत कार्यालयमा पुगेर छलफल गरेको हो । नागरिकलाई असहज हुने गरी काम नगर्न विद्युत प्राधिकरणलाई आग्रह गरिएको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । समाजले छलफलको माध्यमबाट समस्याको समाधान गर्न समेत आग्रह गरेको छ ।

Advertisement :

Leave a Reply

Your email address will not be published. Required fields are marked *