वैवाहिक बलात्कारको `पासो’ मा पति

समाचार
Spread the love

काठमाडौं । श्रीमान-श्रीमतीबीच शारीरिक सम्बन्ध हुनु स्वाभाविकमात्र नभएर सृष्टिको निरन्तरताका लागि अत्यावश्यक पनि हो । तर, यसो भनेर श्रीमतीको इच्छा वा सहमतिविना शारीरिक सम्बन्ध राख्ने छुट श्रीमानलाई कानूनले दिएको छैन ।

आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा तत्कालीन न्यायाधीश भुवन गिरी यतिबेला मुद्दा पुर्पक्षका लागि थुनामा छन् । उच्च अदालतले छाड्ने आदेश गरेपछि त्यसविरुद्ध जाहेरवाला आरती रावल सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्च अदालतले बुधबार गिरीलाई थुनामा पठाउने निर्णय गर्दै तल्ला अदालतको आदेश बदर गर्‍यो र गिरी तत्काल पक्राउ परे ।

गिरी पक्राउ परेको तेस्रो दिन शुक्रबार नेपाली चर्चित गायन रियालिटी सो नेपाल आइडलका पूर्वविजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको समाचार सार्वजनिक भएको छ । रविकी श्रीमतीले चैत २० गते कञ्चनपुर प्रहरीमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ । गायक ओड अहिले जापानमा छन् ।

न्यायाधीश गिरी र गायक ‌‌ओड आआफ्नो क्षेत्रका स्थापित र प्रतिष्ठित व्यक्तित्वहरु भएको हुँदा यी दुई मुद्दाले जनमानसमा निकै चर्चा पाइरहेको छ । साथै धेरै मानिस अचम्भित पनि भइरहेका छन्, आफ्नै श्रीमतीसँग संसर्ग गर्दा पनि केको बलात्कार भन्ने आममनोविज्ञान देखिन्छ ।

त्यसो त नेपालमा वैवाहिक बलात्कारसम्बन्धी कानूनी व्यवस्थाको इतिहास त्यति लामो छैन । श्रीमानले श्रीमतीको राजीखुशीविना शारीरिक सम्बन्ध राख्दा कुनै पनि कानून आकर्षित हुने अवस्था १७ वर्ष अगाडिसम्म थिएन । २०६३ सालमा पहिलो पटक ‘वैवाहिक बलात्कार’ कानूनमा उल्लेख गरेर सजायको व्यवस्था गरिएको हो । मुलुकी ऐनमा संशोधन गरेर वैवाहिक बलात्कारलाई समेटिएको थियो ।

Advertisement:

त्यसअघि २०५८ सालमा मीरा ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । २०५९ साल बैशाख १९ गते सर्वोच्च अदालतले ढुंगानाको पक्षमा फैसला गर्दै वैवाहिक बलात्कारसम्बन्धी कानूनी सजायको व्यवस्था गर्न आदेश गर्‍यो । त्यतिबेला हाल सर्वोच्च अदालतमा न्यायाधीश रहेकी सपना मल्ल प्रधानले पनि निवेदकको पक्षबाट बहस गरेकी थिइन् ।

‘मुलुकी ऐनको जबरजस्ती करणीको परिभाषामा श्रीमतीबाहेकका हकमा मात्र जबरजस्ती करणी हुने भन्ने उल्लेख थियो । तर, जबरजस्ती करणी भनेको जबरजस्ती करणी नै हो, चाहे त्यो श्रीमानले श्रीमतीलाई नै किन नगरोस् । जहाँ सुरक्षित भनेर बसेको हुन्छ, त्यही ठाउँमा अन्याय भयो भने त्यहाँ त्यो श्रीमती कसरी बस्नसक्छ भन्ने बुझेर मैले सर्वोच्च अदालतमा रिट दायर गरेको थिएँ’, वरिष्ठ अधिवक्ता ढुंगाना भन्छिन् ।

२०६३ सालमा गरिएको संशोधनमा ३ देखि ६ महिनासम्म मात्र सजायको व्यवस्था गरिएपछि सर्वोच्च अदालतमा पुनः रिट पर्‍यो । दुई वर्षपछि सर्वोच्चले सजाय बढाउन आदेश गरे पनि कानून संशोधनका लागि झण्डै ७ वर्ष लाग्यो । २०७२ सालमा आएर वैवाहिक बलात्कार गर्नेलाई ३ देखि ५ वर्षसम्म सजाय हुने उल्लेख गरियो ।

Advertisement:

‘सजायमा धेरै नै असमानता भयो भनेर हामीले फेरि सर्वोच्चमा रिट हालेका थियौं’, ढुंगानाले भनिन् ।

मुलुकी ऐनलाई विस्थापित गर्न बनेको मुलुकी अपराध संहिता २०७४ ले श्रीमानविरुद्ध बलात्कारको उजुरी दिन सक्ने र वैवाहिक बलात्कारमा सजाय हुने कानूनी व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (४) मा वैवाहिक बलात्कारबारे उल्लेख छ । त्यसमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने भनिएको छ । सोही दफाको उपदफाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा जबरजस्ती करणी गरेको हुने भनी परिभाषित गरेको देखिन्छ ।

कानून कार्यान्वयनमा आएयता नै महिलाहरु आफ्ना अधिकार र श्रीमानबाट आफूमाथि भइरहेका अत्याचारबारे खुल्न थालेका हुन् । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको पहिलो वर्ष वैवाहिक बलात्कारका ११ वटा मुद्दा देशभरका जिल्ला अदालतमा दर्ता भएका थिए ।

तीमध्ये त्यस वर्ष दुइटा मुद्दाको मात्र फैसला भएकामा दुवैमा आरोपीले सफाइ पाए । गत आर्थिक वर्ष २०७९/८० मा देशभरका जिल्ला अदालतमा वैवाहिक बलात्कारका ३० वटा मुद्दा दर्ता भएका थिए । त्यस वर्ष २७ मुद्दाको फैसला भएकामा ९ मा दोषी र १९ वटामा निर्दोष रहेको फैसला भएको महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उच्च अदालतमा ११ मुद्दा दर्ता भएकामा ८ वटाको फैसला भएको थियो, जसमा ३ वटामा दोषी र ५ वटामा निर्दोष ठहर भएको थियो ।

त्यस वर्ष वैवाहिक बलात्कारको कसुरमा सर्वोच्च अदालतले एउटा फैसला गरेको थियो । ४ वटा मुद्दा सर्वोच्च पुगेकामा एउटामात्र फैसला भएको थियो, जसमा आरोपीले सफाइ पाएको थियो ।

चालू आर्थिक वर्षको सुरुको ६ महिनामा श्रीमतीले श्रीमानविरुद्ध ३० वटा बलात्कारको मुद्दा दिएका छन् । सबैभन्दा बढी कोशी प्रदेशमा १० वटा जाहेरी दर्ता छन् । काठमाडौं उपत्यकामा ७, सुदूरपश्चिममा ५ तथा गण्डकी, कर्णाली र लुम्बिनीमा २–२ वटा जाहेरी दर्ता छन् ।

मधेश र बागमती प्रदेशमा एकएक वटा जाहेरी दर्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा देशभर दर्ता भएका बलात्कारका २ हजार ३८७ जाहेरीमध्ये ५९ वटा वैवाहिक बलात्कारसँग सम्बन्धित थिए ।

त्यस वर्ष काठमाडौं उपत्यकामा १४, सुदूरपश्चिममा ११, कोशीमा १०, बागमतीमा ८ तथा मधेश र लुम्बिनी प्रदेशमा ७-७ वटा जाहेरी दर्ता भएका थिए । कर्णालीमा भने वैवाहिक बलात्कारसँग सम्बन्धित जाहेरी थिएन ।

प्रहरीमा पुगेका घटना काठमाडौंमा बढी
वैवाहिक बलात्कारका जाहेरी सबैभन्दा बढी काठमाडौं उपत्यकामा दर्ता भएको देखिन्छ । त्यसपछि कोशी प्रदेश पर्छ । सबैभन्दा कम दर्ता हुनेमा कर्णाली रहेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७५ यता काठमाडौं उपत्यकामा मात्र वैवाहिक बलात्कारका ४४ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन् ।

कोशीमा यो अवधिमा वैवाहिक बलात्कारका ४० वटा जाहेरी दर्ता भएको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनीमा ३६-३६, मधेशमा १८, कर्णालीमा १२, गण्डकीमा १५ र बागमती प्रदेशमा २० वटा वैवाहिक बलात्कारका जाहेरी दर्ता भएको पाइएको छ ।

दुरुपयोगको जोखिम बढी
वैवाहिक बलात्कारको कानूनी व्यवस्थाले श्रीमतीसँग पनि जबरजस्ती यौन सम्बन्ध राख्न हुँदैन भन्ने सन्देश बलियोसँग स्थापित भएको छ । तर, यसको दुरुपयोगको खतरा पनि उत्तिकै हुने विज्ञहरुले औंल्याएका छन् ।

कस्तो अवस्थामा शारीरिक सम्बन्ध राख्दा ‘जबरजस्ती’ मान्ने भन्ने आधारभूत प्रश्न हो, जुन निरुपण गर्नु न्यायाधीशका लागि पनि चुनौतीको विषय बन्दै आएको छ । कानूनले यसलाई ठोस रुपमा परिभाषित गरेको छैन ।

यद्यपि, श्रीमतीको मञ्जुरीविनाको करणीलाई बलात्कार मानिने भनिएको छ । तर, केलाई मञ्जुरी मान्ने भन्ने प्रश्न उठ्नसक्छ । त्यसमाथि कुनै पनि श्रीमानले श्रीमतीसँग शारीरिक सम्बन्ध कायम गर्दा मञ्जुरीको प्रमाण राखेको हुँदैन ।

Advertisement:

आपसी सम्बन्ध बिग्रिएपछि वा सम्बन्ध तोड्ने मनस्थितिमा पुगेपछि श्रीमतीले प्रतिशोधपूर्वक श्रीमानलाई वैवाहिक बलात्कारमा फसाइदिन सक्ने एक कानून व्यवसायी बताउँछन् ।

उनले भने, ‘वैवाहिक बलात्कारसम्बन्धी कानूनको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष भनेको यसले यौन सम्पर्कमा महिलाको पनि समान भूमिका र समर्थन हुनुपर्छ भन्ने स्थापित गरेको छ र पुरुषको एकल प्रभुत्वमा अंकुश लगाएको छ । तर, कतिपय अवस्थामा महिलाले यो कानूनको दुरुपयोग गर्नसक्ने खतरा पनि हुन्छ । एक प्रकारले यो विवाहित पुरुषको घाँटीमा झुण्डिएको तरवार हो ।’

समाजशास्त्री प्राध्यापक डा. युवराज लुइँटेल पछिल्ला दशकहरुमा नेपाली समाजले लिएको रुपान्तरण, महिला सशक्तीकरण र मिडियाको व्यापकताका कारण वैवाहिक बलात्कारका मुद्दा बढिरहेको बताउँछन् ।

‘महिलाले सम्बन्ध के हो र बलात्कार के हो भन्नेबारे बुझ्न थालेपछि यस्ता घटना बाहिर आउन थालेको देखिन्छ । पक्कै पनि यसमा मिडियाको सहज पहुँच र महिला सशक्तीकरणले ठूलो भूमिका खेलेको छ’, लुइँटेल भन्छन् ।

आपसी सम्बन्ध बिग्रिएपछि वैवाहिक बलात्कारको मुद्दा हाल्ने प्रवृत्ति बढ्नसक्ने खतरा उनले पनि औंल्याए ।

‘अरु कारणले श्रीमानसँग छुट्टिनुपर्दा पनि वैवाहिक बलात्कारको झूटो मुद्दा हाल्नसक्ने जोखिमलाई नजरअन्दाज गर्न सकिन्न’, समाजशास्त्री प्रा. डा. लुइँटेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *