कुर्सी मात्रै फेरिएर केही हुँदैन, जनताको अवस्था फेरिनु पर्‍योः मुख्यमन्त्री चौधरी

राजनीति समाचार
Spread the love

दाङ – ११ महिना लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेर बिहीबार मात्रै राजीनामा दिएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय राजनीतिमा हुने उथलपुथलले देशलाई बर्बाद बनाउने बताएका छन्। उनले कुर्सी फेरिएर मात्रै केही नहुने भन्दै राजनीतिक स्थायित्व सबैले चाहेको पनि बताए।

सरकार ढलाउने र बनाउने खेलले मुलुकको विकास नहुने, बरु निराशा र अविश्वासहरु बढ्दै गइरहेको बताएका छन्। प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधनको क्रममा मुख्यमन्त्री चौधरीले कर्मचारी प्रशासनप्रति असन्तुष्टि पोखे।

राजनीतिक अस्थिरताका कारण प्रदेश तहमा संघीयताको महसुस हुन सक्ने गरी भूमिका बढाउन नसकिएको भनाइ राखे। ‘सरकारमा मन्त्री आउने जाने स्वभाविक हो, अहिलेको निर्वाचन प्रणालीले। तर कर्मचारीले त्यही अवस्था हेरेर काम नगरी बसे,’ उनले भने,‘कर्मचारी प्रशासनबाट भनेको जसरी काम नगर्दा पनि समस्या भयो।’

Advertisement:

प्रदेश तहमा भएको कर्मचारीको कमीले काम गर्न समस्या भएको र अस्थिरताले झनै कमजोर भएको उनले बताए। ‘साँच्चै राजनीतिमा ग्रहण लागेको हो कि, यसरी कसरी चल्छ? अहिलेको व्यवस्थामाथि चुनौती आइरहेकोबेला यस्तो अस्थिर अवस्थाले चुनौती थपेको छ,’ उनले भने, ‘मेरो कार्यकालमा प्रदेशको स्रोत बढाउनेतर्फ भूमिका बढाएँ। तर, प्रतिपक्षमा रहनुभएका साथीहरुले कुरै बुझ्नु भएन।’

लुम्बिनी प्रदेशलाई दातृ संस्थाले विशेष ध्यान दिए पनि राजनीतिक र प्रशासनिक अस्थिरताले समस्यामा पारेको उनको भनाइ थियो।
राजधानी क्षेत्रको जग्गा फुकुवा, कर्मचारी ऐन तयार, दोस्रो आवधिक योजना तयार, सहमति सहकार्यको थालनी, राजधानी क्षेत्रको भौतिक विकासको तीब्रता ११ महिने कार्यकालका मुख्य उपलब्धि रहेको उनले सुनाए।

कर्मचारीले बनाएका नियम कानुनका कारणले काम गर्न धेरै समस्या पारेको बताउँदै प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने गरी काम गर्न उनको आग्रह थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *