देउखुरी (दाङ) —लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी संसदीय दलका नेता जोखबहादुर महरा बन्ने भएका छन् । उनलाई केन्द्रमा भएको गठबन्धन दल एमाले, जसपा, नेकपा एस, स्वतन्त्र सांसद खड्क बस्नेत र लोसपाले समर्थन गर्ने भए पछि मुख्यमन्त्री बन्न लागेका हुन् ।
२०७९ पुस ९ गते एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झन्डै तीन महिना अर्थमन्त्री बनेका थिए । उनी रोल्पा १ (१) बाट निर्वाचित सांसद हुन् । उनले लामो समय माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए ।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एक जना निलम्बनमा परेपछि अहिले ८६ जना छन् । मुख्यमन्त्री बन्नका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिलेसम्म महरालाई गठबन्धन दलबाट एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एसका एक र नवलपरासी २ (१) बाट निर्वाचित स्वतन्त्र सांसद खडक बस्नेत सहित ४४ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् ।
Advertisement:
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लोसपा र नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने आश्वासन दिएको बताए । उन्मुक्तिका ४, लोसपाका ३ जना सांसद छन् । यी थपिए महराको समर्थनमा ५१ जना पुग्छन् । लोसपा र उन्मुक्तिको अहिले बैठक बसिरहेको छ ।
लोसपाबाट सन्तोष कुमार पाण्डेय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकारमा गृह तथा सरकारका प्रवक्ता छन् ।
Advertisement:
मुख्यमन्त्री चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशसभामा सहभागी १० दल मध्ये आठ दलका ५३ सांसदको समर्थन पाउँदै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेका चौधरीले आज ४ बजे बस्ने संसद बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने बताएका छन् ।
Advertisement: