दाङ, ६ चैत्र । घोराही उपमहानगरले चालु आर्थिक वर्षको बजेटको एउटा बुँदामा भ्रमण खर्चवापत ७० लाख रुपैयाँ विनियोजन गरेको छ । भ्रमण बजेट यत्तिमै सीमित राखिएको छैन । विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च उल्लेख भएको अर्को बुँदामा थप १५ लाख रुपैयाँ छुट्याइएको छ ।
भ्रमण खर्चका यी दुई फरक शीर्षक मात्र होइनन्, अन्य भ्रमण खर्च दिएर उपहानगरले फेरि पाँच लाख रुपैयाँ छुट्याएको छ अनि भ्रमण खर्चकै चौथो शीर्षक ‘फिल्ड भ्रमण’ दिएर थप दुई लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । यसरी चार फरक–फरक शीर्षक दिएर भ्रमण खर्च विनियोजन गरेको उपमहानगरको कूल भ्रमण बजेट ९२ लाख ५० हजार रुपैयाँ हुन आउँछ तर उपमहानगर भन्छ, ‘छुट्याइएका चारवटै शीर्षकको बजेट खर्च हुँदैन ।’
उपमहानगरका अनुसार विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च उल्लेख भएको १५ लाख रुपैयाँ उपमहानगरमा कोही विशिष्ट व्यक्ति आएको खण्डमा उनीहरूलाई भ्रमण गराउन छुट्याइएको बजेट हो । यो बजेट यस्ता व्यक्ति आए मात्र खर्च हुने हो । नत्र अन्य शीर्षकमा यो बजेट रकमान्तर हुने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । ‘विशिष्ट व्यक्तिको भ्रमण शीर्षकका लागि छुट्याइएको १५ लाख रुपैयाँ कोही विशिष्ट व्यक्ति आएको खण्डमा उनीहरूलाई भ्रमण गराउँदा प्रयोग गरिने रकम हो’, केसीले भने ‘तर यस्ता कोहि पनि व्यक्ति नआएको खण्डमा यो रकम खर्च हुँँदैन, यो बजेट अन्य शीर्षकमा रकमान्तर हुन्छ ।’
उनले अहिले छुट्याइएको यो शीर्षकको रकम पनि अन्य शीर्षकमा रकमान्तर भइसकेको हुनु पर्ने बताए । ‘विशिष्ट व्यक्तिहरूको शीर्षकका लागि छुट्याइएको बजेट मलाई लाग्छ अन्य शीर्षकमा रकमान्तर भइसकेको छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने । उनका अनुसार कूल भ्रमण खर्च ९२ लाख ५० हजार रुपैयाँ छुट्याएको उपमहानगरले अन्य भ्रमण खर्च र फिल्ड भ्रमण शीर्षकको बजेट पनि विशिष्ट व्यक्तिका लागि छुट्याइएको बजेट जस्तै खर्च नहुन सक्छ । यी दुई शीर्षकको बजेट पनि खर्च नभएको अवस्थामा अन्य शीर्षकमा रकमान्तर हुन्छ । ‘शीर्षकमा उलेख गरिए अनुसार भ्रमण गर्नु परेको खण्डमा रकम चाहिएला भनेर पहिले नै रकम छुट्याइएको हुन्छ’, उनले भने, ‘अन्य भ्रमण र फिल्ड भ्रमणको शीर्षकको रकम पनि सबै खर्च हुन्छ नै भन्ने हुँदैन ।’
प्रमुख प्रशासकीय अधिकृत केसीले भनेजस्तै विशिष्ट व्यक्तिको भ्रमण खर्च, अन्य भ्रमण खर्च र फिल्ड भ्रमण खर्चलाई अलग राख्दा उपमहानगरले छुट्याएको कूल भ्रमण बजेटबाट २२ लाख ५० हजार रुपैयाँ मात्रै घट्छ तर ७० लाख रुपैयाँ भने उपमहानगरले वार्षिक रूपमा भ्रमणमा खर्च गर्ने रकम हो । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार भ्रमण खर्च मात्रै भनेर छुट्याएको ७० लाख रुपैयाँ भने खर्च हुन्छ । ‘भ्रमण खर्चकै लागि भनेर छुट्याएको रकम त खर्च हुन्छ’, केसीले भने । उनका अनुसार उपमहानगरबाट जाने जनप्रतिनिधि वा कर्मचारीको भ्रमण खर्च यसै रकमबाट चल्छ । ‘कतै अनुगमन वा अध्ययनका लागि बाहिर भ्रमणमा जानु पर्ने अवस्था हुन्छ, त्यो बेला यही रकमबाट खर्च गरिन्छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने ‘टिएडिए सबै यसमा जोडिने हुँदा भ्रमण खर्चका लागि छुट्याइएको ७० लाख रुपैयाँ त खर्च हुन्छ नै ।’