काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए ।
‘रकमसँगै आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेका छौ,’ एसपी बोहराले भने, ‘बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।’
एसपी बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।
त्यसपछि सुराकको आधारमा सोमबार बसपार्कस्थित होटलबाट ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ सहित सन्तोष दङ्गेली पक्राउ परेका हुन् ।
प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।
त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट प्रहरीले ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement