दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र वडा नम्बर १८ का अध्यक्ष एवं प्रवक्ता माधव वलीबीच विवाद भएपछि कार्यपालिका बैठक अनिश्चित बनेको छ।
राजस्व उठाउने विषयलाई लिएर आइतबार बसेको कार्यपालिकाको तयारी बैठकमा दुई जनाबीच चर्काचर्की परेको थियो। त्यसपछि कार्यपालिकाको बैठक बस्न नसकेको वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए।
‘तयारी बैठकमा चर्काचर्की परेपछि एमालेका १० जना वडाध्यक्षज्यूहरू बाहिरिनुभएको थियो। यसबारे पार्टीमा छलफल गरेर बैठक बस्ने भनिएको थियो,’ वडाध्यक्ष डाँगीले भने, ‘आइतबारका लागि आह्वान गरेको कार्यपालिका बैठक अन्यौल बनेको छ।’
मेयर खड्का र वडाध्यक्ष वली दुबै जना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
वडाध्यक्ष डाँगीका अनुसार अपुग भएका कानुन तथा कार्यविधिलाई अन्तिम रूप दिन आर्थिक विकास प्रमुख समेत रहेका वलीलाई मेयर खड्काले जिम्मेवारी दिएका थिए। तर वलीले काम नगरी बैठकमा विषयान्तर गर्न खोजेपछि विवाद भएको डाँगीले बताए।
‘क्षेत्राधिकारभन्दा बाहिर वडाध्यक्षहरू किन गएका हुन्? मेरो वडाभित्र पनि बाहिरका वडाध्यक्षहरू प्रवेश गरे भन्ने ढंगले वलीजी प्रस्तुत हुनुभयो,’ वडाध्यक्ष डाँगीले भने, ‘त्यतिखेर १४ नं.का वडाध्यक्ष शंकर खड्का र मैले आफूहरूले क्षेत्राधिकार नमिचेको बरू मेयरको आदेशमा काम गरिरहेको जवाफ दिएका थियौं।’
तुलसीपुरमै पर्ने सोना सिमेन्ट उद्योग, तुलसीपुरको बसपार्क, सब्जीमण्डी, अटो ग्यारेजबाट जे-जति राजस्व जम्मा हुनुपर्ने हो त्यो किन भइरहेको छैन? भनेर प्रश्न उठाउँदा वली आवेगमा आएको १४ का वडाध्यक्ष शंकर खड्काले बताए।
खड्का तुलसीपुर नगरको प्राकृतिक स्रोत साधन व्यवस्थापन समितिका संयोजक समेत हुन्।
स्रोतका अनुसार वडाध्यक्ष वलीका भाइ बसन्त वलीले घाट गद्दी गरिराखेको ढुंगा प्राकृतिक स्रोत साधन समितिका पदाधिकारीको निर्देशनमा जफत गरिएको थियो। त्यसपछि वडाध्यक्ष वली रूष्ट छन्।
यो वर्षदेखि जिल्लाभरका १० पालिकाले आ-आफ्नो क्षेत्रका खोला तथा नदीबाट बालुवा, गिट्टी तथा ढुंगा आफैं उठाउने निर्णय भएको थियो। यसअघि त्यहाँ ठेक्का लगाउने गरिन्थ्यो।
मेयर खड्काले आर्थिक विकास समितिका संयोजक वलीलाई जहिले कर छुट गर्ने प्रस्ताव ल्याएर आउने भन्दै विरोध गरेका थिए।
यसबारे मेयर खड्काले सामान्य छलफलमात्रै भएको प्रतिक्रिया दिए। वडाध्यक्ष वलीले पनि हल्ला चलेजस्तो नभएको बताए।
‘बाहिर जुन रूपमा हल्लाहरू गरिएका छन् त्यस्तो होइन। छलफलमात्रै भएको हो,’ उनले भने।
वडा नं. ९ का वडाध्यक्ष एवं लेखासमितिका संयोजक घनश्याम ढकालका अनुसार मेयर खड्काले राजस्व संकलनका लागि उचित र सकारात्मक कुरा गरिरहेको बताए।
‘मेयरसाबले वलीलाई तपाईंले गर्नुपर्ने जति गर्नुभएको छैन, खै तपाईंले गरेको कामको प्रगति विवरण दिनुहोस् भनेपछि उहाँ रिसाउनु भएको थियो,’ अर्का एक वडाध्यक्षले भने, ‘यहाँ मेयर भन्दा पनि वडाध्यक्ष वलीकै कमीकमजोरी छ।’