रामप्रसाद आचार्य
लुम्विनी । रोल्पाबाट काठमाडौंमा गएर ०६४ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन शक्तिशाली महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका नेकपा माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी अहिले उनै नेपालको पार्टीको समेत साथ र समर्थनमा पुनः संसद यात्रा तय गरेका छन् ।
बिहीबार भएको राष्ट्रिय सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट अन्य समूहबाट उम्मेदार बनेका थिए भने सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि छ ।
लुम्बिनीबाट उम्मेदार बनेका सुवेदीलाई नेपाल नेतृत्वमा रहेका एक प्रदेश सांसदले मतदान गरेका छन् । कम्फर्टेबल मतभारका कारण सत्तागठबन्धनको उम्मेदवार बनेपछि जित निश्चित भएका सुवेदी पहिलेदेखि नै खुसी देखिन्थे ।
सुवेदीले २०६४ चैत २८ को पहिलो संविधान सभाको चुनावमा काठमाडौं २ मा खसेको ३७ हजार ७२७ मतमा १३ हजार ८५८ मत ल्याएर जित निकालेका थिए । माधव नेपालले १२ हजार ३२५ मतमा चित्त बुझाउनुपरेको थियो । १ हजार ५३३ मतान्तरमा चुनाव जितेर उनी त्यतिबेलादेखि चर्चामा रहेका थिए । सुवेदी माओवादीले सुरु गरेको सशस्त्र युद्धअघि २०४९ मा रोल्पा जिविस सभापतिसमेत भएका थिए ।
उनी जिविस सभापति भएकै अवस्थामा लिवाङबाट पक्राउ परेका थिए । ०५४ सालमा जेलमुक्त भएपनि पछि उनी भूमिगत भएर काम थालेका हुन् । उनी ०४८ सालमा स्थायी शिक्षक छाडेर सोही वर्ष गजुल गाविसको अध्यक्ष र पछि जिविस सभापति भएका थिए । ०३६ सालमा विद्यार्थी राजनीति शुरु गरेका उनी ०४२ सालमा शिक्षक भएका थिए ।
माओवादीले आफ्नो पहिलो संसदीय मोर्चामा सानदार उपस्थिति देखाएको चुनावको चर्चामा झक्कु सुवेदी हुनुमा मुलतः तीन कारण थिए । एक, उनी माधव नेपालको तुलनामा चर्चित अनुहार थिएनन् । दुई, उनी काठमाडौंका परिचित अनुहार थिएनन् । तीन, माओवादीले काठमाडौंमा एमालेसँग चुनावी तालमेल गर्ने संकेत गरेको थियो । तर, एमालेले आफ्नो बलियो आधार भएको भन्दै अस्वीकार गरेको थियो ।
तर ७४ मा भने काठमाडौं ६ मा उठेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराए । प्रधानले १६ हजार ७८५ मत ल्याउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए ।
माधव नेपाललाई चुनाव जितेर चर्चामा आएका झक्कु आफ्नो कार्यकालमा मतदाताको झापड खाएर पनि उत्तिकै चर्चित बनेका थिए । गोरखाबाट काठमाडौं बसाइँ सरेर आएका मतदाता ५० वर्षका प्रेमराज देवकोटाले झक्कु सुवेदीलाई झापड हानेका थिए ।
२०१८ माघ २८ मा रोल्पाको गजुल गाविस वडा नं ४ पानीपोखरा हाल सुर्वणावती ६ मा जन्मिएका सुवेदी पन्चायतविरोधी आन्दोलनबाट नै राजनीतिमा लागेका हुन् । ०७४ सालको निर्वाचनपछि हृदयघातबाट केही थलिएका उनी अहिले राष्ट्रिय सभाको निर्वाचनबाट पुनः सांसद बनेका हुन् ।