काठमाडौं– घुस बापत लिएको नगद रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलले सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।
अख्तियारका अनुसार उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा नगरप्रमुख पटेलले सेवाग्राहीसँग ५ लाख घुस माग गरेका थिए।
घुस वापत २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक बुझिसकेको अवस्थामा २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। सोही मुद्दामा उनीहरुले अहिले सफाइ पाएका हुन्।