काठमाडौं । विद्युतीय कारमा सरकारले कम कर लगाएकै कारण मध्यम वर्गले गाडी किन्ने आँट गर्न थालेका छन् । चाहे त्यो सहर केन्द्रित कार होस् वा फ्यामली ह्याचव्याक, विद्युतीय भएकै कारण धेरैको पहुँचमा पुग्न सकेको हो ।
नेपाल विश्वमै महंगो मूल्य तिरेर कार किन्नु पर्ने देश हो । हामी कहाँ एउटै गाडीमा ११० प्रतिशतसम्म अन्तःशुल्क लगाइन्छ । यस्तो किसिमको कर मानव स्वास्थ्यमा असर पुग्ने बस्तुहरुमा मात्रै प्रयोग हुन्छ । त्यसैले मध्यम वर्गको आवस्यकता भएपनि कार किन्ने आँट आउन सकेको थिएन । पहिले धनी र उच्च मध्यम बर्गले मात्रै गाडी किन्ने आँट गरिरहेको देखिन्थ्यो ।
सहर केन्द्रित साना कार अधिकांशले आफ्नो दोस्रो कारको रुपमा किनेका छन् । एकाधले आफ्नो मोविलीटीलाई ध्यानमा राखेर साना ३ ढोका भएको विद्युतीय मिनी कारहरु खरिद गरिरहेको भेटिन्छ ।
साना मिनी कारको अलावा कम मूल्यमा बिक्री हुँदै आएका टियागो ईभी, नेटा भी र सिट्रोन सीथ्री पनि छन् । नेटा भी र सिट्रोन सीथ्री मूल्यको हिसावले ३० लाख रुपैयाँ माथि पर्ने भएको कारण थोरै आम्दानी हुनेलाई किन्न केही कठिन नै देखिन्छ ।
त्यसैले अधिकांश मानिसको रोजाईमा टाटाको फ्यामली कार टियागो ईभी परिरहेको छ । त्यसको मूख्य कारण नै मूल्य हो । २२ लाखदेखि २८ लाख रुपैयाँसम्म मूल्य भएकै कारण यसमा मध्यम वर्गको निकै राम्रो आकर्षण देखिन्छ ।
डाउन पेमेन्ट र मासिक किस्ता
टियागो ईभी २१ लाख ९९ हजारदेखि नै उपलब्ध रहेको कारण सबैभन्दा कम मूल्यको एक्सई भेरियन्टलाई नै आधार मानेर डाउन पेमेन्ट र मासिक किस्ता निकालेका छौं ।
टियागो ईभीको इन्ट्री भेरियन्ट खरिद गर्ने ग्राहकले सुरुमा ४ लाख ३९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । जुन बजारमा पाइने सामान्य १५०/१६० सीसीको इन्जिन भएको मोटरसाइकललाई पर्ने मूल्य हो ।
मूल्यको २० प्रतिशतले हुन आउने झण्डै ४ लाख ४० हजार डाउन पेमेन्ट गरेपछि १७ लाख ५९ हजार २०० रुपैयाँ बैंकबाट कर्जा लिनु पर्छ । अहिले ब्याजदर घट्दै १० प्रतिशतमा आइसकेको छ । १० प्रतिशत ब्याजदरमा ७ वर्ष भित्र तिर्नेगरी टियागो ईभी किन्दा २९ हजार २०५ रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ ।
यसमा मेन्टीनेन्स खर्च कम लाग्ने, पेट्रोल वापत लाग्ने रकम बचत हुने र डिसी फास्ट चार्जर सपोर्ट हुने भएको कारण देशको कुनै पनि कुनामा लान सकिन्छ । यसले मध्यम बर्गको कार चढ्ने सपना पुरा गरेको छ ।