घोराहीमा पाँच महिनामा १९ प्रतिशत खर्च

अर्थ/वाणिज्य समाचार
Spread the love

घोराही । घोराही उपमहानगरपालिकाको १४ औं नगर अधिवेशन शुरु भएको छ । बुधबारदेखि शुरु भएको अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले चालु आर्थिक वर्षको पाँच महिनामा भएको खर्च, प्रगति सुनाउँदै विभिन्न दुईवटा विधेयक पेश गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० नगरसभामा पेश भएको छ । नगरसभा सदस्यहरुलाई अध्ययनका लागि समय दिइएको पुस १७ गते बस्ने अर्को बैठकमा विधेयकमाथि दफावार छलफल हुनेछ ।

सभामा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले चालु आर्थिक वर्ष ०८०÷०८१ को पाँच महिनामा कुल विनियोजित बजेटको १९ दशमलव ९५ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये चालु खर्च २६ दशमलव ५१ प्रतिशत र पुँजीगत खर्च नौ दशमलव ३२ प्रतिशत छ । यस्तै उपमहानगरपालिकाको आन्तरिकतर्फ चालु खर्च २७ दशमलव ७६ प्रतिशत, पूँजीगततर्फ १० दशमलव ४८ प्रतिशत, संघीय सरकारको अनुदानतर्फ चालु खर्च २५ दशमलव ५५ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ भने कुनै खर्च हुन सकेको छैन । यस्तै लुम्बिनी प्रदेश सरकार अनुदानतर्फ पनि कुनै खर्च भएको छैन ।

यसैगरी घोराहीले राजश्वतर्फ आन्तरिक आय पाँच महिनामा नौ करोड १६ लाख ३५ हजार ७९ रुपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष ०७९÷०८० को यही अवधिको तुलनामा चालु आर्थिक वर्ष ०८०÷०८१ को पाँच महिनामा घर बहाल करमा ४८ लाख वढी, सरसफाइ शुल्क २२ लाख बढी संकलन भएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । यसैगरी उपमहानगरपालिकाले हालसम्म एक सय नौवटा कानुन निर्माण गरेको र चालु आर्थिक वर्षको पाँच महिनामा क्षेत्रगत कार्यविधि चार र मार्गदर्शन एउटा निर्माण गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । यस्तै योजनाहरुलाई दिगो र समयमै सम्पन्न गर्न उपभोक्तामार्फत सञ्चालन तथा सम्झौता गर्दै उपभोक्तालाई अभिमुखिकरण समेत गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षका कुल छ सय ९० वटा योजनामध्ये पाँच महिनामा एक सय ३६ वटा सम्झौता भएको र १७ वटा सम्पन्न भइसकेका छन् । त्यस्तै घोराही ५ र १२ मा स्वास्थ्य चौकी निर्माण गरिएको, नगर प्रमुख रक्तअनुदान कार्यक्रममार्फत पाँच महिनामा दुई सय ६१ प्वाइन्ट रगत अनुदान गरिएको र त्यसबाट ८५ महिलासहित एक सय २२ जनाले सेवा पाएको नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो ।

उपप्रमुख खुत्रुके बचत कार्यक्रमअन्तर्गत एक सय ५९ जनाले सेवा पाएको, घोराहीमा हाल ४६ खोप केन्द्र, २० वटा गाउँघर क्लिनिक सञ्चालन गरी बितेको पाँच महिनामा आठ हजार दुई सय ७२ जना बालबालिकालाई सेवा दिइरहेको, घोराहीमा वडास्तरीय खेलकूद समिति गठन गरिएको, विदेशबाट फर्किएका युवा लक्षित मागमा आधारित कार्यक्रम अनुदान वितरण गरिएको, भैंसी गोठ, बाख्रा खोर सुधार, वर्षिम घाँस र जै घाँसको बिउ वितरण, माछाका भुरा वितरण, पशुपंक्षीलाई लम्पिस्किन रोगविरुद्धको खोप प्रदान गरिएको र पाँच महिनामा खरको छाना विस्थापन गर्न दुईजनालाई ५०÷५० हजार वितरण गरिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *