प्रतिष्ठानले आफै फोहोर व्यवस्थापन गर्ने

समाचार
Spread the love

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालको फोहोर आफै व्यवस्थापन गर्ने भएको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएका जीआइजेट र हेल्थ सर्भिस नेपालको दुई वर्षे परियोजनाको अवधि सकिएपछि अस्पतालले नै व्यवस्थापनको काम शुरु गरेको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो ।

उहाँले अस्पतालजन्य फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएका संस्थाले उक्त कामको जिम्मा अस्पताल प्रशासनलाई लगाएको जानकारी दिनुभयो । अस्पतालजन्य फोहोर मैलाको संस्थागत विकास परियोजनामार्फत फोहोर व्यवस्थापनमा सहयोग हुँदै आएको थियो । अस्पताल प्रशासन आफै फोहोर व्यवस्थापन गर्न सक्षम भएपछि परियोजनाले अस्पताल प्रशासनलाई फोहोर आफै व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । अस्पतालजन्य फोहोरमैलाको संस्थागत विकास परियोजनाका संयोजक सन्तोष पौडेलले दुई वर्षको रेकर्ड अनुसार प्रतिष्ठानमा संक्रमितजन्य फोहोर मासिकरुपमा सात सय १७ किलो र पुनः प्रयोग गर्न मिल्ने फोहोर एक हजार पाँच सय २३ किलो उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुन प्रयोग गर्न मिल्ने फोहोर बिक्री गरेर मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका मेट्रोन तथा फोहोरमैला व्यवस्थापन फोकल पर्सन शर्मिला शर्मा, जीआइजेडका क्षेत्रीय संयोजक सुवास नेपाल, टिम लिडर सन्तोष पौडेल, प्रतिष्ठानका प्रबन्धक राजेन्द्रप्रसाद न्यौपाने, घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी, नर्सिङतर्फबाट फोहोरमैला व्यवस्थापन सुपरभाइजर पुष्पा रावतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका मेट्रोन तथा फोहोरमैला व्यवस्थापन फोकल पर्सन शर्मिला शर्मा र प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले जीआइजेडका क्षेत्रीय संयोजक सुवास नेपाललाई धन्यवाद पत्र हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *