दाङ, २१ मंसिर । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गर्नेक्रममा दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्राप्त गर्न सफल भएको छ ।
आयोगको गत १९ मंसिरमै सिट निर्धारण गरेको हो । आयोगले बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले सन् २०२४ को शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेछन् । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछानेले आयोगले प्रतिष्ठानलाई ४ सिट निर्धारण गरेको जानकारी दिए । जसअनुसार एमडिजिपिमा २, अर्थोपेडिकमा १ र प्रसुतीमा १ गरेर ४ सिट प्राप्त गरेको छ । बिएस्सि र बिएनएस नर्सिङको पढाई सुरु गरेर शैक्षिक कार्यक्रम सुरु गरेको प्रतिष्ठानले अहिलेका उपकुलपती डा. बिकास लामीछानेको कार्यकालमा एमडि एमएसको सिट ल्याउन सफल भएको हो । अबदेखि प्रतिष्ठानमा चिकित्सकको स्नातकोत्तर तह एमडि एमएसको पढाई सुरु हुनु दङ्गालि माझ खुसी र नयाँ आशाको सन्चार भएको लामो समयदेखि प्रतिष्ठान मातहत जग्गा ल्याउन भुमिका खेलेका बलिभद्र रानाले बताए । त्यस्तै नागरिक समाज दाङका निबर्तमान संयोजक चन्द्रराज पन्तले आयोगको यो निर्णयले आफू अत्यन्तै खुसी भएको भन्दै अब छिटाे भन्दा छिटाे एमविबिएसको पढाई हुन पाए थप सुखद शन्देश जाने बताए ।
प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने निबर्तमान शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, निबर्तमान रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि र निमित्त डाइरेक्टर डा. रमेश कडेलसहित सरोकारवाला पक्षको पहलमा यो अभियानले सार्थकता पाएकोमा दङ्गालिमा खुसी छाएको यहाँका स्थानियको भनाई छ ।