काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।
यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको ‘एनसेल’ बिक्रीमा राख्नेसमेत निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले प्रतिक्रिया दिएका छन् ।
“नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,” आजियाटाले मङ्गलवार जारी गरेको विज्ञप्तिमाभनिएको छ, “तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।”
यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीको विश्वास छ । विज्ञप्तिमा अगाडि भनिएको छ, “यो निर्णय हाम्रा सबै शेयरहोल्डरको दीर्घकालीन हितमा छ ।”
२०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी (YTD) ६.४% ले घटेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स (EBIT) ११.४ प्रतिशले घटेको छ भने प्रोफिट आफ्टर ट्याक्स एन्ड माइनोरिटी इन्ट्रेस्ट (PATAMI)४७.७ प्रतिशतले घटेको कम्पनीको निष्कर्ष छ ।