कैलाली जिल्ला अदालतबाट एक थान कटुवा पेस्तोल, चार थान गोली र पाँचवटा मोबाइल सेट चोरी भएको छ । अदालतको अभिलेख शाखाको झ्यालको ग्रिल फोडेर मुद्दाको मिसिलको साथमा रहेका सामान आइतबार राति चोरी भएको हो ।
राति साढे १० देखि ११ बजेको बीचमा चोरी भएको सिसिटिभी फुटेजमा देखिएको जिल्ला अदालतले जनाएको छ । हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए । ‘झ्यालको ग्रिल तोडेर मुद्दाको दसीका रूपमा आएका सामान चोरी भएका हुन्,’ उनले भने, ‘यसबारे छानबिन गर्न प्रहरीलाई भनेका छौँ ।’