घोराही । अव्वल स्वास्थ्य सेवा प्रदान गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबै शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ । यस क्षेत्रकै गौरबकारुपमा स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजकाल दैनिक सयौ बिरामीलाई सेवा दिइरहेको छ । यसको साथसाथै केही समय अगाडी बाट नर्सिङ अध्ययापन गराउन सुरु गरेको प्रतिष्ठानले चिकित्सकका लागि विशषेज्ञ पाढाई र डाक्टर उत्पादन गर्न एमबिबिएसको अध्ययापन गराउने तयारी सुरु गरेको छ । पहिलो चरणमा विशषेज्ञ पढाई सुरु हुने र त्यसपछि केही समयभित्रै एमबिबिएस अध्ययन पनि सुरु हुने प्रतिष्ठानले जनाएको छ ।
सेवा र शैक्षिक कार्यक्रमलाई थप कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुसँग गरिएको छलफलमा प्रतिष्ठानका उपकुलपति डाक्टर विकास लामिछानेले अबको केही दिनभित्रै चिकित्सकका लागि विशेषज्ञ पढाई सुरु हने र त्यसपछि भौतिक संरचनाको जोहो गरेर एमबिबिएस पढाई पनि गर्ने तयारी प्रतिष्ठानले गरेको बताउनुभयो । यसको लागि यहाँका सरोकारवाला निकायहरुले सबै खाले सहयोग गर्नुपर्ने बताउँदै उपकुलपति लामिछानेले प्रतिष्ठानलाई यस क्षेत्रकै गौरबको संस्थाकारुपमा विकास गर्न आफूहरु लागि परेको बताउनुभयो ।
हाल सेवाको सन्दर्भमा नेपालकै टप स्वास्थ्य संस्था मध्यको एक बन्ने दौडमा रहेको जानकारी दिँदै लामिछानेले अब प्रतिष्ठानलाई सेवासँगै शैक्षिक हबकारुपमा पनि विकास गर्न जरुरी रहेको बताउनुभयो । शैक्षिक कार्यक्रम सुरु गर्नका लागि जग्गा, भवन निर्माणलगायतका कार्यहरुलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको बताउँदै सुरुका चरणमा उपाए नलागेमा भवन भाडामा लिएर भएपनि एमबिबिएस पढाई सुरु गर्ने सोँच आफूहरुले बनाएको जानकारी दिनुभयो ।
सो अबसरमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, एवं कर्मचारीहरुले प्रतिष्ठानको सेवा अनि आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका भुपबहादुर डाँगी, नेकपा माओवादी केन्द्रका निर्मल आचार्य, नेकपा एमालेका नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, निवर्तमान अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका निवर्तमान अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीलगायतकाले विभिन्न सुझाबहरु दिनुभएको थियो । हाल प्रतिष्ठानमा ५ सयको हाराहारीमा जनशक्ति रहेको छ ।