आमाको हत्या प्रयासबाट घाइते शिशुको उपचारका क्रममा मृत्यु

समाचार
Spread the love

दाङ ।आमाले हत्या प्रयासबाट घाइते नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ।

कात्तिक ८ गते दिउँसो लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले आफ्नै १६ दिने छोरीको घाँटी चक्कुले रेटेर हत्याको प्रयास गर्दैगर्दा घरका सदस्यले देखेपछि बालिकाको घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो।

उक्त दिन घरका मानिस खेतमा काम गर्न गएको समयमा निर्माले घर पछाडि लगेर छोरीको घाँटी तरकारी काट्न प्रयोग गरिने चक्कुले रेट्दै गर्दा देवरले देखेका थिए। लमहीमा उपचार सम्भव नभएपछि नवजात शिशुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेर उपचार गरिएको थियो।

उपचारपछि पाँच दिन पहिले घर ल्याइएकी नवजात शिशुमा एकाएक समस्या उत्पन्न भएपछि बिहीबार बेलुका लमहीस्थित तुलसी बाल अस्पतालमा उपचारका लागि लगिएको थियो। सोही अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

छोरीको मृत्युपछि आमा निर्मालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले निर्मालाई दस दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले शुक्रबार म्याद दिएको छ।

मानसिक स्वास्थ्य ठीक नभएकी भनिएकी आमा निर्मालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको भए पनि उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको थियो। केही दिनको उपचारपछि आमालाई घरमा लगिएको थियो।

चिकित्सकले आमा र बच्चालाई सँगै नराख्नू भन्ने सल्लाह अनुरूप निर्मालाई उनकी छोरीलाई उपचारपछि घर फर्किंदा माइती पठाइएको थियो। छोरीको मृत्युपछि फेरि प्रहरीले शुक्रबार निर्मालाई नियन्त्रणमा लिएको हो ।
यही बीचमा चौधरी परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा घाइते नवजात शिशुको उपचारमा समस्या उत्पन्न भएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक श्रेष्ठकै नेतृत्वमा एक लाख रुपैयाँ संकलन गरी चौधरी परिवारलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *