सन्तोष दहित
दाङ । नेताले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका युवकलाई नै दोषी देखाउने गरी आइरहेका समाचारले थप पीडा दिइरहेको पीडित परिवारजनले बताएका छन्।
नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) नेता धर्मेन्द्र बास्तोलाले चलाएको गाडीले कात्तिक २ गते ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका-५ लठ्ठवा गाउँका २९ वर्षीया सन्तराम चौधरीको मृत्यु भएको थियो। त्यही दिन प्रहरीले नियन्त्रणमा लिएका नेकपा प्रवक्ता समेत रहेका बास्तोला हिरासतमा छन्। मृतक चौधरीले मदिरा सेवन गरेर मोटरसाइकल चलाएकाले दुर्घटना भएको भन्दै नेता बास्तोलाको भनाइ उद्धृत गरेर विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन्।
यसमा पीडित परिवारले आपत्ति जनाएका छन्। “मेरो छोराले रक्सी खाको थिएन,” मृतकका बुवा सशिराम चौधरीले भने, “१६ महीनाको नाति छ, उसका लागि जति राति भए पनि घरमै आउथ्यो, केही खानपिन गर्दैन्थ्यो।”
बुवा सशिरामका अनुसार, कात्तिक २ गते पनि सदाझै सन्तराम दाङको लमहीस्थित नर्तीबाट घर फर्किरहेको थियो। नर्तीस्थित एक उद्योगमा आफूले चलाउँदै आएको गाडी पार्किङ गरेर रा ६ प ५७३८ नम्बरको मोटरसाइकलमा घर फर्किरहेका थिए, सन्तराम।
राप्ती गाउँपालिकास्थित सिंगैखोला पुल नजिकै बा ९ च ७११८ नम्बर स्कार्पियोले ठक्कर दियो। “मेरो छोरा आफ्नै साइडमा थियो,” बुवा सशिरामले भने।
स्कार्पियो चलाइरहेका थिए, नेकपा नेता बास्तोला। उनी काठमाडौंबाट सुर्खेततर्फ गइरहेका थिए।
गाडीको ठक्करबाट मोटरसाइकल चालक सन्तराम घाइते भए। प्रहरीले खबर पाएपछि राति १० बजे उद्धार गरेर नजिकै रहेको सिसहनियाँ स्वास्थ्य चौकीमा पु¥यो। तर, स्वास्थ्य चौकीमा पु¥याएको केही समयमै चिकित्सकले मृत्यु भएको घोषणा गरे।
दशैंको मुखमा सन्तरामलाई गुमाउँदा उनको परिवार मात्रै होइन, गाउँनै शोकमा डुब्यो। एक्लो सन्तान गुमाएपछि उनका बुवा केही दिन अचेत नै भए। “मेरो त केही थिएन, बुढो भइसकेँ, तर १६ महीने नाति देख्दा सहनै गाह्रो हुन्छ,” बुवा सशिरामले भने।
जेनतेन सम्हालिँदै गरेका उनले छोरालाई नै दोषी बनाउने गरी समाचार आउन थालेपछि भने झन पीडा थपिएको बताए। “मेरो छोराको के दोष थियो? आफ्नो साइडमा आउँदै थियो,” उनले भने, “गाडीले हानेर ज्यान लिएको छ, उसलाई दोषी देखाउँदै छन्।”
स्थानीय बासिन्दा पनि सन्तराम गल्ती नभएको बताउँछन्। जनप्रतिनिधि पनि उनलाई गलत देखाउन खोजेकोमा चिन्तित छन्। राप्ती गाउँपालिका-५ का वडाध्यक्ष देवप्रसाद चौधरी पनि सन्तरामको गल्ती नदेखिने बताउँछन्। “सन्तराम लमही नर्तिस्थित उद्योगको गाडी चलाउथे। बिहान उद्योग पुग्थे, दिनभर गाडी चलाएर साँझ उद्योगमै गाडी राखेर घर फर्किन्थे,” वडाध्यक्ष देवप्रसादले भने, “त्यो दिन पनि आफ्नै साइडमा फर्किदै थिए, तर घरमा पुग्न पाएनन्।”
उनको परिवारलाई न्याय दिलाउन आफू पनि लागिरहेको वडाध्यक्ष देवप्रसादको भनाइ छ। “स्थानीय जनताको प्रतिनिधिको हैसियतले पीडितलाई न्याय दिलाउन लागी परेको छु,” उनले भने, “आशा गरौं, अदालती प्रक्रिया शुरू भएपछि पीडित परिवारले न्याय पाउनेछ।”
प्रहरीले भने कसको गल्ती थियो भन्ने एकीन नभएको प्रतिक्रिया दिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले अनुसन्धान भइरहेको बताए। “अहिलेसम्म केही रिपोर्ट आएको छैन, अनुसन्धान गरिरहेका छौं,” एसपी केसीले भने।
नेकपा नेता बास्तोलालाई इलाका प्रहरी कार्यालय, भालुवाङको हिरासतमा राखिएको छ। बास्तोलामाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी केसीले बताए। दशैं बिदाका कारण अदालत बन्द रहेकाले कानूनी प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ। कात्तिक १२ गते कार्यालय खुल्ने बितिक्कै अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।