कार्तिक ७
विकाश भट्टराई दाङ –
नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल उपाधि जितेको हो ।
मलेसियाको बायोमास ओभलमा नेपालले जितका लागि दिएको १९८ रनको लक्ष्य पछ्याएको यूएईले २६ ओभर ५ बलममा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो ।
वर्षाका कारण खेल रोकिनु भन्दा पहिले यूएईले २८१ रनको लक्ष्य पछ्याएको समयमा युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । खेल रोकिएपछि युएईले २७ ओभरमा १९८ रनको लक्ष्य पाएको थियो ।
यूएईका लागि ध्रुब परेशारलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्यांश शर्माले ३२ रन बनाउँदा कप्तान आयन खानले ३० रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि नेपालका त्रिपाठीले सर्वाधिका चार विकेट लिए । त्यस्तै सुवास भण्डारीले ३ विकेट लिँदा आकाश चन्दले र हेमन्त धामीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो ।
नेपालका लागि देव खनालले १०० रनको शतकीय पारी खेले । उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै ओपनर अर्जुन कुमालले ७८ बलमा ४ चौकासहित ५५ रन बनाए । त्यस्तै उत्तम थापामगरले महत्वपूर्ण ५७ रनको अर्धशतकीय पारी खेले । उनले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
युएईका लागि हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै कप्तान आयन खानले २ विकेट लिए । उपाधिसँगै नेपाल एसिया कप छनोट भएको छ ।