३१ भदौ, दाङ । नेपाल चिकित्सक संघको आह्रवानमा आज दाङसहीत देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । ओपिडि सेवा वन्द भएपछि बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । दाङमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरुले पेशागत सुरक्षाको माग गदैै देशब्यापि आन्दोलनकाक्रममा यहाँ पनि ओपिडि सेवा वन्द गरेका छन् ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।
उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ ।
संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।
गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।