वीरेन्द्रनगर — ठूला चाडपर्वमा पनि खाद्यान्न अभाव झेलिरहने कर्णालीका दुर्गम जिल्लामा दसैंका लागि चामल ढुवानीको काम सुरु भएको छ । यस वर्षका ठूला चाडपर्वमा चामलको अभाव हुन नदिने सरकारी तयारी छ । चालु आर्थिक वर्षको चामल ढुवानी ठेक्कामा ढिलाइ हुँदा र वर्षाका कारण अहिले कर्णालीका सबै हिमाली जिल्लाका डिपो रित्ता छन् ।
सदरमुकाममा पनि चामलको पर्याप्त मौज्दात नहुँदा आपत्कालीन अवस्थाका लागि मात्रै चामल राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका मुगु, हुम्ला, डोल्पा, जाजरकोट, कालीकोट, जुम्ला र सुदूरपश्चिमको बाजुरालगायत जिल्लामा चामल पठाउन थालेको हो । अन्न उत्पादन कम भएर वर्षभरि खाद्यान्न नपुग्ने दुर्गमका बासिन्दाका लागि सरकारले कम्पनीमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि चार हजार क्विन्टल चामल तिब्बतको बाटो हुँदै पठाइसकिएको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले यस पटक दुर्गमका बासिन्दाले चाडपर्वमा सहजै चामल पाउने विश्वास दिलाए । ‘यसका लागि हामीले अहिलेबाटै ढुवानी सुरु गरिसकेका छौं,’ उनले भने, ‘हामीले नयाँ चामल खरिदका लागि पनि प्रक्रिया अगाडि बढाइसकेका छौं ।’ बाँकी जिल्लाका लागि सुर्खेतबाटै ढुवानी हुने उनको भनाइ छ ।
हुम्लाबाहेकका जिल्लाका लागि सुर्खेतबाट १५ हजार क्विन्टल चामल ढुवानी भइरहेको कम्पनीले जनाएको छ । दसैंअघि नै दुर्गमका सबै डिपो र बिक्री केन्द्रमा चामल पठाइसक्ने मिश्रले बताए । उनका अनुसार दुर्गममा पठाउने ८ हजार क्विन्टल चामलका लागि सम्झौताको काम सकिएको छ ।
जुम्लाका लागि पनि चामल गइसकेको उनको भनाइ छ । ‘अरू जिल्लामा पठाउने तयारी अन्तिम अवस्थामा छ,’ उनले भने, ‘१२ हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डरसमेत गरिसकेका छौं, समयमै ढुवानी गरेर नजिकिँदै गरेका चाडपर्वमा दुर्गमका बासिन्दालाई चामलको अभाव हुन नदिने हाम्रो योजना हो ।’
कम्पनीको सुर्खेत कार्यालयले दुर्गमका बासिन्दालाई ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ । यस्तै कर्णालीमा सम्भावित विपद्का लागि भन्दै कर्णालीमा १० हजार क्विन्टल चामल मौज्दात राखिएको छ । वर्षात्मा बाढी र पहिरोको जोखिम रहेको र पीडितलाई कुनै पनि बेलामा राहत उपलब्ध गराउनुपर्ने अवस्था आउने भन्दै उक्त चामल जिल्लामै मौज्दात राखिएको कम्पनीले जनाएको छ ।
अहिले कर्णालीका कुनै पनि हिमाली जिल्लाका खाद्य डिपोमा १ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात छैन । जसका कारण कम्पनीले हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा सर्वसाधारणका लागि चामलको बिक्री रोकेको छ । गत वर्ष हिउँदे बालीको उत्पादन राम्रो नभएपछि वैशाखदेखि नै बजारको चामलको भर पर्नुपरिरहेको मुगुको सोरुकोटका लालवीर रावलले बताए ।
‘आफ्नो बारीमा उत्पादन भएको जौ, गहुँ सकियो,’ उनले भने, ‘मकै बाली अझै भित्र्याउने बेला भएको छैन, बारीमा पर्याप्त उब्जनी नहुँदा हामीलाई सधैं वर्षायाममा खाद्यान्नको अभाव हुन थाल्यो ।’
गत वर्ष उत्पादन भएको गहुँ, जौले ३ महिना पनि नधान्दा समस्या भएको हो । आसपासका बजारमा किनमेल गर्न जाँदा पनि पर्याप्त खाद्यान्न नपाइने भएकाले गाउँमा खाद्यान्न अभाव चुलिएको उनको भनाइ छ ।
खाद्यमा बढीमा २ हजार रुपैयाँमा ३० किलो चामलको बोरा पाइने भए पनि बजारबाट मोटो चामललाई नै ३ हजार ५ सय रुपैयाँसम्ममा किन्नुपरेको उनको गुनासो छ ।
मुगुकै मुगमकार्मारोङस्थित पुलु डिपोमा लामो समयदेखि चामल नहुँदा स्थानीयलाई खाद्यान्नको जोहो गर्न समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले जनाए । ‘भएको खाद्यान्न सबैले खाइसकेका छन्, नयाँ खाद्यान्न पाकेकै छैन,’ उनले भने, ‘डिपोमा वर्षायाममा कहिल्यै चामल हुँदैन, चाहिएका बेला चामल नपाइए डिपो भएको के काम ?’
खाद्य डिपोमा चामल नभएपछि डोल्फू, मुगु, चितै, कार्ती, किम्रीलगायत गाउँका स्थानीय एक दिन हिँडेर छाइल बजार गई एक बोरा चामलको जोहो गर्न बाध्य भएको उनले बताए । अत्यधिक चिसो र सिँचाइ सुविधा अभावमा मुगमकार्मारोङका अधिकांश बस्तीमा वर्षमा एक बाली उवामात्र पाक्छ । तर कम्पनीका प्रमुख मिश्र दुई साताभित्र सबै जिल्लामा पर्याप्त चामल पुगिसक्ने दाबी गर्छन् ।